News Portal

  • राष्ट्रिय सभा निर्वाचनः १८ सिटमा गठबन्धन, एकमा एमाले निर्वाचित

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७८
    ७९० पटक
    १२ माघ, २०७८

    काठमाडौं। बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । जसमा पाँच दलको गठबन्धन बहुमतमा भएपनि एमालेलाई क्लिनस्वीप गर्न भने असफल भएको छ ।


    १९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन् । प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राई पराजित हुनुभयो भने अपांगता वा अल्पसंख्यकतर्फको सो पदमा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित हुनुभएको छ ।


    राष्ट्रिय सभाको आजको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए । कर्णालीबाट राष्ट्रिय सभामा गठबन्धनका तीनजनै उम्मेदवार विजयी भएका छन् । उनीहरुले एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् । निर्वाचनमा अन्यतर्फ उदय बोहोरा एकीकृत समाजवादी, अपांग/आदिवासीतर्फ नरबहादुर विष्ट माओवादी केन्द्र र महिलातर्फ कांग्रेसकी दुर्गाकुमारी गुरुङ निर्वाचित हुनुभएको छ ।
    गण्डकीबाट गठबन्धनका ३ जनै उम्मेदवार विजयी भएका छन् । महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित हुनुभएको हो । लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भए । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट महिलामा राजेन्द्रलक्ष्मी गैरे र जनमोर्चाको तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्मा निर्वाचित हुनुभएको छ ।
    त्यस्तै सुदूरपश्चिममा पनि गठबन्धनका उम्मेदवार विजयी भए । सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भए । महिलातर्फ नेकपा एकीकृत समाजवादी मदन कुमारी शाह (गरिमा), दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी हुनुभएको हो ।
    मधेश प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महम्मद खालिद सिद्धिकी निर्वाचित हुनुभएको छ । वाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित हुनुभएको छ ।

    प्रतिकृया दिनुहोस्