News Portal

  • ग्लोबल आइएमई बैंकले कमायो साढे २ अर्ब बढी नाफा

    आर्थीकसंसार संवाददाता७ माघ, २०७८
    ७६९ पटक
    ७ माघ, २०७८

    काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा साढे २ अर्ब बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
    जुन अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । बैंकले अघिल्लो आवको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
    समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि १३.५७ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, खुद ब्याज आम्दानी सामान्य बढेर ४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।
    त्यस्तै, चालु आवको पुससम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिमा १ अर्ब ४३ करोड रुपैयाँ थियो ।
    खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । अघिल्लो आवको पुससम्म २१.४० रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी चालु आवमा बढेर २२.३९ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ बढेर १४४.९७ रुपैयाँ र पीई रेसियो घटेर १४.५६ गुणा रहेको छ ।
    हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ । जुन २०७७ पुस मसान्तसम्मको तुलनामा १० प्रतिशतले बढी हो । त्यस्तै जगेडा कोषको आकार भने ३.४९ प्रतिशतले घट्न पुगेको छ । अघिल्लो वर्ष ११ अर्ब ८ करोड रुपैयाँ सञ्चित रहेको बैंकको जगेडा कोषमा हाल १० अर्ब ७० करोड रुपैयाँ रहेको छ ।
    समीक्षा अवधिमा बैंकको निक्षेप १.२९ प्रतिशतले बढेर २ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा १२.१५ प्रतिशतले बढेर २ खर्ब ५६ अर्ब रुपैयाँ छ ।

    प्रतिकृया दिनुहोस्