News Portal

  • दुई निर्जीवन बीमा कम्पनीले ९९ कराेड रूपैयाँकाे हकप्रद जारी गर्ने

    आर्थीकसंसार संवाददाता६ माघ, २०७८
    ७५३ पटक
    ६ माघ, २०७८

    काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीले ९९ करोड ५ लाख रूपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएका छन् । शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्सले अब छिट्टै नेपाली पुँजीबजारमा ९९ करोड ५ लाख ९१ हजार रूपैयाँ बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएका हुन् ।

    नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति दिएसँगै यी दुई इन्स्योरेन्सलाई सो मात्राको हकप्रद जारी गर्न बोटो खुला भएको हो ।  माघ ५ गते बसेको बोर्डको सञ्चालक समितिको बैठकले लामो समयअघिदेखि पाइपलाइनमा रहेका शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्सलाई हकप्रद जारी गर्न स्वीकृति दिएको बोर्डका कार्यकारी निर्देशन निरज गिरीले जानकारी दिए ।
    जसमध्ये शिखर इन्स्योरेन्सले करिब ८ महिना र आईएमई जनरल इन्स्योरेन्सले करिब ५ महिनाको पर्खाइपछि बल्ल स्वीकृति पाएका हुन् ।
    यससँगै शिखरले ३० प्रतिशत अर्थात ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । बोर्डले इन्स्योरेन्सलाई अंकित मूल्य एक सय रुपैयाँ दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रदको लागि स्वीकृति दिएको हो । उक्त हकप्रद सेयर निष्काशन गर्नको लागि इन्स्योरेन्सले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
    हाल शिखरको चुक्ता पुँजी एक अर्ब ७५ करोड ६१ लाख रुपैयाँ छ । ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रदपछि शिखर इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २८ करोड ३६ लाख रुपैयाँ पुग्ने छ ।
    त्यस्तै, गत भदौ १७ गते बोर्डसँग स्वीकृति मागेको आईएमई जनरल इन्स्योरेन्सले करिब ५ महिनापछि हकप्रदको लागि स्वीकृति पाएको छ । बोर्डले आईएमई जनरललाई ४० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँ दरका ४६ लाख ३० हजार ३४४ कित्ता अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
    हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ छ । ४६ करोड ३० लाख रुपैयाँपछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ६२ करोड ५ लाख रुपैयाँ पुग्ने छ ।
    सूचीकृत कम्पनीको नियमकारी निकाय नेपाल धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्वबिहीन भएकाले हकप्रद तथा आईपीओको लागि अनुमति दिने कार्य भएको थिएन । हाल पनि बोर्ड नेतृत्वबिहीन नै रहेको छ । तर, बोर्डका कार्यकारी निर्देशक निरज गिरीले अध्यक्ष पदको जिम्मेवारी पाएपछि बोर्डले हकप्रद तथा आईपीओको अनुमति दिने कार्य शुरु गरेको हो ।
    साथै, अब अन्य दुई कम्पनी हकप्रद सेयर निष्काशन गर्नेको पाइपलाइनमा छन् । जसमा अपि पावर कम्पनी र नेपाल फाइनान्स रहेका छन् । अब बोर्डले स्वीकृति दिएपछि अपि पावरलाई १ अर्ब ८ करोड रुपैयाँ र नेपाल फाइनान्सलाई ३४ करोड ५४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्री गर्न बाटो खुल्ने छ ।

    प्रतिकृया दिनुहोस्