News Portal

  • नेपाल टेलिकमद्वारा मदनकृष्ण–हरिवंशलाई “ब्राण्ड एम्बेसडर”मा नियुक्त

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७८
    १४३७ पटक
    २८ मंसिर, २०७८

    कठमाडौं । नेपाल टेलिकमद्वारा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)लाई “ब्राण्ड एम्बेसडर”मा नियुक्त गरेको छ ।
    मुलुकको हाँस्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाई महजोडीको रुपमा चिनिनु भएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई नेपाल टेलिकमले “ब्राण्ड एम्बेसडर” नियुक्त गरेको हो । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
    सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि.का अध्यक्ष सरोज वलीले हस्ताक्षर गर्नुभयो ।
    कम्पनीका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीहरुको सहभागीता रहेको सो कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
    सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कला र हाँस्यव्यंग्य क्षेत्रका दुई नक्षेत्रलाई नेपाल टेलिकमको “ब्राण्ड एम्बेसडर” नियुक्त गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताउनु भयो । उहाँले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको पनि उल्लेख गर्नुभयो ।
    कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय श्रेष्ठ र आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको “ब्राण्ड एम्बेसडर” हुन पाएकोमा आफूहरुले गौरवान्वित महसुस गरिरहेको बताउनु भएको थियो ।
    यस सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षणसम्बन्धी कार्यहरु गर्नुहुनेछ । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको छ ।
    मुलुकको कलाकारिता क्षेत्रमा विशिष्ठ पहिचान भएका “ब्राण्ड एम्बेसडर”द्वयको संलग्नताबाट कम्पनीका ग्राहकवर्गले कम्पनीका सेवा सुविधासम्बन्धी जानकारी थप सहजरुपमा प्राप्त गर्न सम्भव हुने अपेक्षा गरिएको समेत कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्