News Portal

  • कृषि विकास बैंकले २४ अर्बको ऋणपत्र निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता१० भदौ, २०७७
    १३६५ पटक
    १० भदौ, २०७७

    काठमाडौं । कृषि विकास बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरिरहेको छ । बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले १० वर्षका लागि ‘कृषि बण्ड’ निष्काशन गर्ने तयारी गरिरहेको जनाएको छ ।
    बैंकका अनुसार २४ अर्ब रुपैयाँको ऋणपत्र २ करोड ४० लाख कित्ताको हुनेछ । बैंकले पहिलो चरणमा भने ५ देखि ६ अर्ब रुपैयाँसम्मको ऋणपत्र निष्काशन गर्ने तयारी गरिरहेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए । ‘हामी अहिले आन्तरिक तयारीमै छौं, ऋणपत्र कहिले निष्काशन गर्ने भन्ने यकिन भएको छैन, पहिलो चरणमा भने ५÷६ अर्ब रुपैयाँसम्मको निकाल्ने कि भन्ने कुरा भइरहेको छ,’ उनले भने । उनका अनुसार सो ऋणपत्रका लागि बैंकहरुले मात्र आवेदन दिन सक्नेछन् । ऋणपत्र सर्वसाधारणरणका लागि नभई सम्पूर्ण बैंकहरुका लागि भएको उनको भनाइ छ ।
    उनका अनुसार पहिलो चरणमा निष्काशन हुने ऋणपत्र ५ अर्बको भए ५० लाख कित्ता र ६ अर्बको भए ६० लाख कित्ता ऋणपत्र निष्काशन हनेछ । ‘पहिलो चरणमा निष्काशन गरेको ऋणपत्रको मागका आधारमा विस्तारै निष्काशन गर्दै जान्छौं, कोभिड–१९ को समस्या समाधान भएर सहज वातावरण बन्यो भने ऋणपत्र जारी गर्दै जानेछौं, अहिले बैंक सम्पूर्ण तयारीमा जुटेको छ,’ उनले भने ।
    अहिले बैंकले आन्तरिक कमिटी गठन गरेर काम गरिरहेको छ । बैंकले यो रकम कृषिमा लगानी गर्ने उनको भनाइ छ । न्युनतम कति कित्ता र अधिकतम कति कित्तासम्म आवदेन दिन सकिने त्यो विस्तारै थाहा हुने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्