News Portal

  • उच्च हिमाली विभिन्न क्षेत्र र जिल्लामा गुणस्तरीय दूरसञ्चार सेवा विस्तारका लागि अप्टिकल फाइबर लिंक स्थापना

    आर्थीकसंसार संवाददाता१२ कार्तिक, २०७८
    ११३४ पटक
    १२ कार्तिक, २०७८

    काठमाडौं । मुलुकको अति दुर्गम स्थानहरुमध्येको सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरुले हालै सम्पन्न गरिएको अप्टिकल फाइबर लिंक स्थापनापश्चात दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलोपटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप बृद्धि हुने भएको हो । समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई हिजो (२०७८ कात्तिक ११) १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो ।
    रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि सेवाग्राहीहरुको आवश्यकता र चाहना भएतापनि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन । नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने देखिन्छ ।
    पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लुलगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर अभिवृद्धि हुनेछ । यसका साथै यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरुको मोबाइल ट्राफिक आदान प्रदान गर्न सहज हुनेछ ।
    विगतका वर्षहरुमा यी क्षेत्रमा टेलिफोन सेवाको गुणस्तरीयताका बारेमा टिका टिप्पणी हुने गरेको सन्दर्भमा अप्टिकल फाइबर लिंकको प्रयोगसँगै अब उप्रान्त ग्राहकवर्गले गुणस्तरीय सेवाको अनुभव गर्नसक्ने अपेक्षा गरेको समेत टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्