News Portal

  • नेपाल लाईफ इन्स्योरेन्सले बीमितहरुलाई विशेष नगद छुट योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता२३ असोज, २०७८
    १४३० पटक
    २३ असोज, २०७८

    काठमाडौं । सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले बीमितहरुलाई लक्षित गर्दै डिजिटल भुक्तानी सेवा प्रदायकमार्फत विशेष नगद छुट योजना सार्वजनिक गरेको छ ।
    नवीकरण बीमाशुल्क भुक्तानी गर्नका लागि बीमितलाई आकर्षित गर्ने उद्देश्यले भुक्तानी सेवा प्रदायकहरु ई–सेवा, खल्ती र प्रभु पेसँगको सहकार्यमा नेपाल लाईफले नगद छुट योजना ल्याएको हो । नेपाल लाईफका ग्राहकले नवीकरण बीमाशुल्क भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।
    भुक्तानी सेवा प्रदायकले क्यास ब्याक (नगद फिर्ता) योजनाअन्तर्गत यो सुविधा उपलब्ध गराई रहेकाले बीमाशुल्क भुक्तानी गरेको भोलिपल्ट बीमितको खातामा नगद फिर्तावापतको रकम जम्मा हुन्छ । ई–सेवा, खल्ती वा प्रभु पेमध्ये बीमितले बीमाशुल्क भुक्तानी गर्न प्रयोग गरेको वालेटमै क्यास ब्याकवापतको रकम फिर्ता हुन्छ ।
    कस्तो अवस्थामा पाइन्छ छुट सुविधा ?
    नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबाट सात दिनभित्र भुक्तानी गरेको अवस्थामा मात्र नगद फिर्ता वापतको छुट रकम फिर्ता पाइन्छ । बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिभन्दा अगावै अर्थात अग्रिम भुक्तानी गरेको अवस्थामा पनि छुट सुविधा उपलब्ध छ । अधिकांश जीवन बीमा कम्पनीमा नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबाट ३० दिन पहिलेदेखि नै बीमाशुल्क भुक्तानी गर्न मिल्छ ।
    कति पाइन्छ छुटः
    ई–सेवा वालेटले ०.३५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँ छुट उपलब्ध गराइ रहेको छ । त्यसैगरी यो योजना चालू रहेसम्मको अवधिमा प्रत्येक महिना एकजना भाग्यशाली विजेतालाई आईफोन टुवेल्भ मोबाइल फोन सेट उपहारको समेत घोषणा गरेको छ ।
    खल्ती वालेटले भने नगद छुटको मात्र योजना ल्याएको छ । जिन्सी उपहार योजना छैन । खल्ती वालेटले बीमितले जम्मा गर्ने नवीकरण बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ ।
    कसरी गर्ने भुक्तानी ?
    नवीकरण बीमाशुल्क भुक्तानी गर्नका लागि आफूले प्रयोग गर्ने ई–सेवा, खल्ती वा प्रभु पे वालेट एप्समा बीमा भन्ने विकल्प खोज्नुहोस् । सबै एप्समा छाताको संकेतलाई प्रयोग गरिएको छ । एप्समा देखाइएको छाताको संकेतमा थिचि सकेपछि जीवन बीमा र निर्जीवन बीमा भन्ने दुईवटा विकल्प देखापर्छ । यी दुईमध्ये जीवन बीमाको विकल्पमा थिच्नुहोस् । जीवन बीमाको विकल्पमा थिचि सकेपछि देखापर्ने जीवन बीमा कम्पनीहरुको लोगोमध्ये नेपाल लाईफ इन्स्योरेन्सको लोगोमा थिच्नुहोस् । यति गरेपछि बीमालेख नम्बर र बीमितको जन्म मिति टाइप गरेर भुक्तानी प्रक्रिया अघि बढाउनुहोस् । एक मिनेटभन्दा पनि छोटो समयमै भुक्तानी प्रक्रिया पूरा गर्न सक्नुहुन्छ ।

    प्रतिकृया दिनुहोस्