

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय बनेपाको आयोजनामा शाखा प्रमुखहरुको सहभागितामा सरल रुपमा सेवा प्रवाह गर्ने व्यापार प्रवद्र्धन रणनीतिक तालिम सम्पन्न भएको छ । उक्त तालिम २ दिनसम्म सञ्चालन भएको थियो । लक्ष्मी होटल रुपन्देही बुटवलमा तालिम सम्पन्न भएको हो ।
तालिम संस्थाका नायब कार्यकारी अधिकृत किरण काफ्ले विभागीय प्रमुख बिमल खनाल र ज्ञानिश्वर पन्तले प्रशिक्षण गरेका थिए । तालिममा बिभिन्न ७ जिल्लाका ३८ जना शाखा प्रमुखहरुको सहभागिता रहेको थियो भने तालिमको सहजिकरण गीता राउतले गरेकी थिइन् ।
संस्थाका सञ्चालक पुष्पराज ढकालले तालिमबाट कर्मचारीको दक्षता विकास भई संस्थागत लक्ष्य हासिल गर्न ऊर्जा मिल्ने र सबै कर्मचारीलाई दक्ष कर्मचारीको रुपमा विकास गर्ने संस्थाकोे उद्देश्य रहेको बताए ।
उक्त तालिममा संस्थाका नायब कार्यकारी अधिकृत किरण काफ्लेले कर्मचारीहरुको दक्षताले मात्रै संस्था सबल बन्न सक्ने, सेवा ग्राहीलाई पनि राम्रो सेवा दिन सकिने बताउँदै सेवा ग्राहीलाई उत्कृष्ट सेवा दिने गरी यहाँ सिकेका कुराहरु व्यवहारमा कार्यान्वयन गर्न निर्देशन गरेका थिए ।