News Portal

  • सिद्धार्थ बैंकले अक्सिजन उत्पादकलाई आधारदरमै कर्जा दिने

    आर्थीकसंसार संवाददाता२ जेठ, २०७८
    ७६८ पटक
    २ जेठ, २०७८

    काठमाडौं । कोरोना संक्रमणको बढ्दो क्रमसँगै संक्रमित बिरामीहरुको उपचारको क्रममा अस्पताल तथा नर्सिङ्ग होमहरुमा देखापरेको अक्सिजनको चरम अभावलाई मध्यनजर गर्दै सिद्धार्थ बैंकले अक्सिजन लोन नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा सञ्चालनमा ल्याएको छ ।
    बैंकले अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरिद तथा क्षमता विस्तारको लागि इच्छुक अस्पताल तथा नर्सिङ्ग होमहरुलाई लक्षित गरी यो कर्जा सुविधा ल्याएको हो । यस कर्जा सुविधामा बैंकको आधार दरमा कर्जा प्रदान गरिनुको साथै संस्थाको नगद प्रवाहको आधारमा कर्जाको भुक्तानी गरिनेछ । यस्तै यस कर्जा सुविधामा अन्य कुनै पनि शुल्क नलाग्ने र उच्च प्राथमिकतामा साथ कर्जा प्रोसेसिङ्ग गरिने बैंकले जानकारी दिएको छ ।
    यसरी प्रदान गरिएको कर्जामा नेपाल राष्ट्र बैंकबाट सहुलियत प्रदान गरेको खण्डमा, नेपाल राष्ट्र बैंकले निर्दिस्ट गरेको सहुलियत कर्जा निर्देशिका अनुरुप हुने बैंकले जनाएको छ ।
    सिमित अवधिका लागि ल्याइएको यस कर्जा सुविधाले हाल देशमा भइरहेका अक्सिजनको अभाव मेटाउन मद्दत पुर्याउँदै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विशेष भूमिका खेल्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।
    बैंकले यस आ.व. मात्र कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड ४ लाख प्रदेश तथा स्थानीय सरकारलाई प्रदानसमेत गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्