News Portal

  • सहुलियतपूर्ण कर्जादेखि कर छुटसम्म माग, अर्थमन्त्रीसँग उद्योग महासंघको छलफल

    आर्थीकसंसार संवाददातासहुलियतपूर्ण कर्जादेखि कर छुटसम्म माग, अर्थमन्त्रीसँग उद्योग महासंघको छलफल
    १३ पटक
    सहुलियतपूर्ण कर्जादेखि कर छुटसम्म माग, अर्थमन्त्रीसँग उद्योग महासंघको छलफल

    काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योग (एमएसएमई) क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ ।

    महासंघको प्रतिनिधिमण्डलले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी एमएसएमई क्षेत्रको विकासका लागि विभिन्न नीतिगत सुधारका प्रस्ताव पेश गरेको हो ।

    महासंघले आगामी १० वर्षलाई ‘एमएसएमई डेभलपमेन्ट डिकेड’ घोषणा गर्नुपर्ने, सहुलियतपूर्ण तथा बिनाधितो कर्जा उपलब्ध गराउनुपर्ने र नयाँ उद्योगलाई कर सहुलियत दिनुपर्ने प्रस्ताव गरेको छ ।

    त्यस्तै, सार्वजनिक खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादनलाई प्राथमिकता दिनुपर्ने, ‘मेड इन नेपाल’ अभियानलाई प्रभावकारी बनाउनुपर्ने, निर्यात सहजीकरण गर्नुपर्ने तथा आधुनिक प्रविधि भित्र्याउन सरकारी अनुदानको व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।

    महासंघले महिला तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी विशेष उद्यमशीलता प्याकेज ल्याउनुपर्ने प्रस्ताव गरेको छ । साथै, ‘१०० स्टार्टअप–१०० इन्भेष्टर’ कार्यक्रम सञ्चालन र उद्योगसम्बन्धी सरकारी सेवा छिटोछरितो बनाउन ‘फास्ट–ट्रयाक इन्डस्ट्रियल सर्भिस’ लागू गर्न पनि माग गरिएको छ ।

    सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीचको सहकार्यबाट उत्पादन, रोजगारी तथा निर्यात बढाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने महासंघले जनाएको छ ।

    महासंघका प्रस्तावबारे कार्यवाहक प्रधानमन्त्री वाग्लेले एमएसएमई क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका थिए ।

    बाढीपीडितलाई ५ लाख ५५ हजार सहयोग

    भेटका क्रममा महासंघले बाढी प्रभावित परिवारको राहतका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।

    महासंघकी अध्यक्ष शोभा गुरुङले उक्त रकम कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेकी हुन् । सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको महासंघले जनाएको छ ।

    महासंघले बाढीपीडितका लागि आवश्यक सामग्रीसमेत संकलन गरिरहेको र ती सामग्री छिट्टै प्रभावित क्षेत्रमा वितरण गर्ने जनाएको छ ।

    अध्यक्ष गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष डम्बरप्रसाद रेग्मी, उपाध्यक्षहरू हरिहर थापा, मोहन कटुवाल, सत्यनारायण प्रजापति, जानकी प्रधान र गुणराज ढकाललगायतको सहभागिता थियो । महासंघकी महिला उद्यमी समितिकी अध्यक्ष रिता अवाल, महासचिव विनोददेव पन्त र कोषाध्यक्ष वीरेन्द्र जत्तिलगायत पनि प्रतिनिधिमण्डलमा सहभागी थिए ।

    प्रतिकृया दिनुहोस्