१९ भदौ, २०८३काठमाडौं । सानिमा बैंकले १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न २२औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले असोज १२ गते बिहान ११ बजे काठमाडौंको आम्रपाली ब्यांक्वेट, भाटभटेनीमा साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८२÷८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित १० प्रतिशतका दरले हुने १ अर्ब ५५ करोड ८१ लाख ५२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनीहरू सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेडको गत आर्थिक वर्ष २०८२÷८३ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
यस्तै, लेखापरीक्षण समितिको सिफारिसमा चालु आर्थिक वर्ष २०८३÷८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरिनेछ। बैंकका अनुसार बहालवाला लेखापरीक्षक एसएआर एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त हुन योग्य छन् ।
सञ्चालक समितिको प्रस्तावअनुसार असार मसान्तमा कायम रहेको सञ्चित मुनाफाबाट अविमोच्य असञ्चिति अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसहित) समानुपातिक रूपमा वितरण गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गर्नेछ ।
सभाले सर्वसाधारण समूह (समूह ‘ख’) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचनसमेत गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय बैंकले गरेको छ । त्यसैले असोज १ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

