News Portal

  • सिटिजन्स बैंकका कर्मचारीका लागि मुटु रोगसम्बन्धी सचेतना कार्यक्रम

    आर्थीकसंसार संवाददाता१८ भदौ, २०८३
    १९ पटक
    १८ भदौ, २०८३

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै मुटु तथा रक्तनलीसम्बन्धी रोगको रोकथामबारे सचेतना कार्यक्रम आयोजना गरेको छ ।

    बैंकले भारतको गुडगाउँस्थित मेदान्ता–द मेडिसिटी अस्पतालसँगको सहकार्यमा ‘प्रिभेन्टिङ कार्डियोभास्कुलर डिजिजेज’ विषयमा अनलाइन सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

    सेप्टेम्बर १ मा आयोजित कार्यक्रममा ३५ वर्ष वा सोभन्दा माथिका बैंकका कर्मचारीलाई लक्षित गरिएको थियो । कार्यक्रममा मेदान्ता–द मेडिसिटी अस्पताल, भारतको कार्डियाक केयरअन्तर्गत क्लिनिकल एन्ड प्रिभेन्टिभ कार्डियोलोजीका भाइस चेयरम्यान डा. मनीष बन्सलले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए ।

    कार्यक्रममा मुटु तथा रक्तनलीसम्बन्धी रोगका प्रमुख जोखिम, रोगबाट बच्ने उपाय, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता तथा दैनिक जीवनमा स्वस्थ बानी र जीवनशैली अपनाउने महत्त्वबारे जानकारी दिइएको थियो ।

    नियमित शारीरिक व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैलीमार्फत मुटुको स्वास्थ्य सुरक्षित राख्न सकिने विषयमा समेत सहभागीलाई सचेत गराइएको बैंकले जनाएको छ ।

    अनलाइन कार्यक्रममा बैंकका ३५ वर्ष वा सोभन्दा माथिका कुल ४४६ जना कर्मचारीले सक्रिय सहभागिता जनाएका थिए । कर्मचारीमा स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्दै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

    सिटिजन्स बैंकले आफ्ना कर्मचारी, ग्राहक तथा अन्य सरोकारवालाको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    यसैगरी, बैंकका कार्डवाहक ग्राहकले उपचारका क्रममा मेदान्ता अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्