४ साउन, २०८३ काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्वकप फुटबलको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै सञ्चालन गरेको ‘द गोल इज ग्रीन’ अभियानलाई प्रभावकारी बनाउन डब्लूडब्लूएफ नेपाल र काम्दी सामुदायिक वन समन्वय समिति (काम्दी सीएफसीसी) सँग सहकार्य गरेको छ ।
बैंकले फिफा विश्वकप २०२६ का सम्पूर्ण खेलमा भएको प्रत्येक गोल बराबर एउटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धता अनुसार अभियान अघि बढाएको जनाएको छ । विश्वकपभर ३३३ गोल भएपछि बैंकले ३३३ वटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धता पूरा गर्ने भएको छ ।
यस सहकार्यअन्तर्गत डब्लूडब्लूएफ नेपालले प्रजाति छनोट, उपयुक्त रोपाइँ क्षेत्रको पहिचान तथा पारिस्थितिकीय पुनःस्थापनासम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउनेछ । काम्दी सामुदायिक वन समन्वय समितिले स्थानीय जैविक विविधताअनुकूल रैथाने बिरुवा रोप्नुका साथै तिनको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्नेछ ।
लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले दिगोपन बैंकको दीर्घकालीन रणनीतिक प्राथमिकता भएको उल्लेख गर्दै ‘द गोल इज ग्रीन’ अभियानले खेलप्रतिको उत्साहलाई जलवायु संरक्षणसँग जोडेको बताए । डब्लूडब्लूएफ नेपालको संरक्षणसम्बन्धी विशेषज्ञताले अभियानलाई अझ प्रभावकारी र दिगो बनाउने विश्वास उनले व्यक्त गरे ।
डब्लूडब्लूएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले वन पुनःस्थापना भनेको केवल रूख रोप्ने कार्य नभई उपयुक्त स्थानमा रैथाने प्रजातिको रोपाइँ र स्थानीय समुदायको दीर्घकालीन सहभागिता सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।
काम्दी सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेन्द्र शाहीले यस सहकार्यले जैविक मार्ग (कोरिडोर) पुनःस्थापनाको प्रयासलाई थप सुदृढ बनाउने र स्थानीय समुदायलाई दीर्घकालीन लाभ पुग्ने विश्वास व्यक्त गरे ।
बैंकका अनुसार ‘द गोल इज ग्रीन’ अभियानले दिगोपनलाई वित्तीय सेवामा मात्र सीमित नराखी सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग जोड्दै ग्राहक, व्यवसाय र समुदायलाई सामूहिक जलवायु अभियानमा सहभागी गराउने तथा नेपालको हरित भविष्य निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
