२० जेठ, २०८३काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले व्यतित बीमालेख पुनर्जागरण गर्दा १०० प्रतिशतसम्म ब्याज छुट पाउने भएका छन्।
कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीबाट जारी गरिएका बीमालेखन्तर्गत २०८३ वैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरु पुनर्जागरण गर्दा ब्याज छुट सुविधा उपलब्ध हुने जानकारी गरेको हो। जसअनुसार २०८१ जेठ २० गतेबाट हालसम्म व्यतित भएका बीमालेख (२ वर्ष व्यतित भएका) पुनर्जारण गर्दा बीमितले १०० प्रतिशत ब्याज छुट पाउनेछन्।
यो छुट सुविधा आज जेठ २० गतेदेखि आउँदो असार १९ गतेभित्र व्यतित बीमालेख पुनर्जागरण गर्दा उपलब्ध हुने कम्पनीले स्पष्ट पारेको छ।
दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट उपलब्ध नहुने कम्पनीले जनाएको छ। यसका साथै एकपटक ब्याज छुट लिइसकेका बीमितलाई पुनःब्याज छुट प्रदान प्रदान नगरिने पनि कम्पनीले प्रस्ट पारेको छ।
