News Portal

  • सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’सुरु

    आर्थीकसंसार संवाददाता२७ चैत, २०८२
    ११ पटक
    २७ चैत, २०८२

    काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा शुक्रबारदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन भएको छ ।

    जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रियालगायतका सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

    सुर्खेतमा सञ्चालन हुने यस शिविरबाट करिब ५० जना जलन पीडितहरू लाभान्वित हुने बैंकको अपेक्षा छ ।

    जटिल समस्या भएर शिविरमा आएका बिरामीलाई काठमाडौंको कीर्तिपुर अस्पतालमा रिफर गरी निःशुल्क उपचारको व्यवस्था मिलाइने बैंकले जनाएको छ ।

    संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको निःशुल्क जलन शिविर लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा पनि सञ्चालन गर्ने बैंकले जनाएको छ ।

    यसअघि फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको पहिलो शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएका थिए । जसमध्ये २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको थियो भने जटिल किसिमका १८ जना बिरामीलाई काठमाडौं साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको थियो ।

    शिविरमा आगोले पोलेर शरीरको एक भाग अर्को भागसँग जोडिएको, हातका औंलाहरू टाँसिएको अवस्था भएकाहरुले निःशुल्क उपचार पाउनेछन् । साथै जन्मँदै ओठ तालु (मुखभित्र जिब्रोभन्दा माथि) चिरिएका, जन्मँदै औंला जोडिएका, बढी भएका तथा चोटपटक लागेर समस्या भएका मानिसहरूले पनि सरसल्लाह लिन सक्ने बैंकले जनाएको छ ।

    जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ । तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ ।

    जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरूलाई उपचार गरी उनीहरुको जीवनमा सुधार ल्याउने प्रयासस्वरूप शिविर आयोजना गरिएको बैंकको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्