News Portal

  • ज्योति विकास बैंकद्वारा सप्तरीमा ७० जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

    आर्थीकसंसार संवाददाता२३ चैत, २०८२
    ७ पटक
    २३ चैत, २०८२

    काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गर्दै सप्तरी जिल्लाका ७० जना स्थानीय नागरिकलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा प्रदान गरेको छ ।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत सप्तरीको रुपनगरस्थित तिलगंगा सर्जिकल आँखा केन्द्र परिसरमा आयोजित निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविरमा सहयोग गरेको हो ।

    उक्त स्वास्थ्य शिविरमा २ हजारभन्दा बढी व्यक्तिको निःशुल्क आँखा परीक्षण गरिएको थियो। कार्यक्रममा कुल ४०७ जनाको मोतिबिन्दु शल्यक्रिया सम्पन्न भएकोमा ज्योति विकास बैंकको प्रत्यक्ष सहयोगमा ७० जना स्थानीयको शल्यक्रिया निःशुल्क गरिएको बैंकले जनाएको छ । शल्यक्रियापछि आवश्यक पर्ने चस्मा तथा औषधिहरू समेत सबै बिरामीलाई निःशुल्क वितरण गरिएको थियो ।

    यस पहलमार्फत दृष्टि गुमाउने जोखिममा रहेका समुदायका नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै उनीहरूको जीवनस्तर सुधारमा योगदान पुगेको बैंकको विश्वास छ । स्थानीयको दैनिकी सहज बनाउनुका साथै आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

    ज्योति विकास बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गरी निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा सञ्चालन गर्ने घोषणा गरेको थियो । सोही सहकार्य सम्झौताअनुसार कार्यक्रम सम्पन्न गरिएको हो ।

    बैंकले आगामी दिनहरूमा पनि प्रभावमुखी सामाजिक पहललाई निरन्तरता दिँदै समाजको समग्र विकास र अभ्युदयमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्वमार्फत दिगो परिवर्तनको संवाहक बन्ने लक्ष्य बैंकले लिएको जनाएको छ ।

    बैंकका अनुसार, सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा ५० प्रतिशत बढी रकम सामाजिक कार्यमा विनियोजन गर्दै आएको छ । स्वास्थ्य क्षेत्रमा केन्द्रित कार्यक्रमअन्तर्गत ‘न्यानो नानी’ पहलमार्फत हरेक वर्ष २,५९० भन्दा बढी नवजात शिशुको जीवन रक्षा गर्न योगदान पुगेको पनि बैंकले उल्लेख गरेको छ ।

    गत आर्थिक वर्षमा बैंकले कर शीर्षकमा ४१ करोड रुपैयाँ योगदान गरेको जनाएको छ। हाल ज्योति विकास बैंकले उपत्यका तथा उपत्यकाबाहिर गरी ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्