२८ फागुन, २०८२काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीका कर्मचारीहरु प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पन्थीको कार्यशैलीप्रति रुष्ट बनेका छन्। उनीहरुले सीईओ पन्थीले आमकर्मचारी तथा सरोकारवालाको छवि धमिल्याउँदै मिडियाबाजी गरेको आरोप लगाएका छन्।
कर्मचारीहरुले आज एक विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्। हालै केही सञ्चार माध्यममा कम्पनीसँग सम्बन्धित एक भिडियो फुटेजका आधारमा प्रशारित समाचारप्रति ध्यानाकर्षण उनीहरुले जनाएका छन्।
उक्त भिडियो कार्यालयको आन्तरिक कक्षमा भएको घटनाको आंशिक अंश मात्र सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ। ‘यसले घटनाको वास्तविक पृष्ठभूमि र संस्थाभित्रको परिस्थितिलाई पूर्ण रुपमा प्रतिविम्बित गर्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सम्पूर्ण सन्दर्भ स्पष्ट पार्नु आवश्यक ठानी यो विज्ञप्ति जारी गरिएको हो।’
यस्ता छन् कर्मचारीको स्पष्टोक्ति
सीईओको नियुक्ति तत्कालीन जेनजी मुभमेन्टअघिको सरकारले गरेको हो।
राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक समितिसमक्ष पुस १३ गते प्रस्तुत ध्यानाकर्षणपत्र सम्बन्धमा सीईओसमक्ष फागुन २७ गते व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीले जानकारी माग गर्दा प्रमुख प्रमुरु कार्यकारीबाट कम्पनीको साख गिर्नेगरी गैरजिम्मेवार अभिव्यक्ति प्रकट हुँदै आएको अवस्था थियो। सीईओ पन्थीबाट कम्पनीको व्यावसायिक छवि र प्रतिष्ठामा आँच आउने गरी मिति फागुन २७ गते एकतर्फी रुपमा आफू कार्यरत रहँदै सीधाकुरा डटकम मिडियामा कम्पनीको आमकर्मचारी तथा सरोकारवालाको छवि धमिल्याउँदै मिडियाबाजी गरेको प्रस्ट देखिन्छ।
सीईओबाट गत असार २३ मा अर्थ मन्त्रालयको स्वीकृतिसहित ल्याइएको कर्मचारी विनियमावलीका कारण कर्मचारीहरुले विगतदेखि खाइपाइआएका सेवासुविधामा वार्षिक रुपमा करिब २ लाख ५० हजार रुपैयाँबराबरको सेवासुविधा घटाई ल्याएको र यस विषय कर्मचारीले बारम्बार उठाउँदै आएका छन्। यससँगै सेवानिवृत्त हुँदा पाइने केही सुविधासम्बन्धी प्रावधानमा समेत परिवर्तन गरिएको विषयले कर्मचारीमा स्वाभाविक चिन्ता र असन्तोष उत्पन्न भएको थियो। यस विषयमा कर्मचारीको आपत्तिपश्चात सञ्चालक समितिले सो व्यवस्थाको पुनरावलोकन आवश्यक रहेको ठहर गर्दै संशोधनका लागि अर्थ मन्त्रालयमा पठाएको तर सीईओबाट त्यस सम्बन्धमा कुनै पनि सकरात्मक पहल नगरेको।
कर्मचारीको सेवासुविधा घट्दा सीईओले कर्मचारीलाई अदालत जान उक्साएको, बदनियतपूर्ण तरिकाले आफ्नो साथीलाई कानुनी सल्लाहाकार नियुक्त गरी दबाउने प्रयास गरेको, अनावश्यक रुपमा पारिश्रमिक भुक्तानी गर्नको लागि कानुनी सल्लाहाकारलाई कार्यालयमा बोलाई हाजिर गराई कार्यालयको सम्पत्ति र स्रोतसाधान दुरुपयोग गरेको।
सीईओले व्यवस्थापन तथा आमकर्मचारीसँग समय–समयमा म कम्पनी बिक्री गर्ने प्रयोजनको लागि आएको हो, तिमीहरुको सेवासुविधा काट्न आएको हो भनी बारम्बार धम्क्याउदै आएको।
सीईओ गत महिनादेखि बीच–बीचमा कहिले बिहानै आएर हाजिर गरेर जाने, कार्यालयमा जानकारी नगराई र सञ्चालक समितिबाट स्वीकृत नगराई बिदामा बस्ने, बिदामा हो भने पनि निमित्त कार्यकारी प्रमुख नदिने र कार्यालयको काममा वाधा पुर्याउने काम गरेको।
कम्पनीमा लामो समयदेखि पदपूर्ति हुन नसक्दा कम्पनीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) को आवश्यकता औँल्याइँदा सीईओको पहलमा एकजना विज्ञ नियुक्त गरिएको थियो। सर्वेक्षण रिपोर्ट कार्यालयलाई नै हानी गर्ने खालको ल्याएर सञ्चालक समितिलाई समेत विभिन्न कुरामा झुकाएर पास गराउन खोजिएको थियो। पछि कर्मचारी प्रशासनका तर्फबाट सञ्चालक समितिलाई कुरा बुझाएपछि सञ्चालक समितिले आफैँले नै उक्त कुरामा संलग्न भएर एउटा संक्षिप्त ओएन्डएम वनाएर त्यसकै आधारमा स्वीकृतिका लागि मन्त्रालय पठाएको छ। यसमा पनि सीईओको कर्मचारीप्रतिको धारणा के हो भन्ने स्पष्ट छ।
सीईओले कम्पनीको बार्षिकोत्सव फागुन ११ मा पनि उपस्थित नभई कार्यक्रम बिगार्ने र कम्पनीको साख बिगार्न उद्दत रहेकोले स्थापनाकालदेखि मनाइँदै आएको वार्षिकोत्सवलाई बाधा पुर्याए।
आम कर्मचारीको चासोको विषय नियमित रुपमा हुनुपर्ने पदपूर्ति, लेखापरीक्षण, वार्षिक साधरणसभा, बीमांकीय मूल्यांकनबारेमा स्पष्टता माग गर्दा गैरजिम्मेवार जबाफ दिने र पन्छिने गरेको र निज नियुक्त भएपश्चात कुनै पनी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षण नियुक्त नगरेको यथार्थता छ। सीईओको अभिव्यक्तिमा म आएपश्चात ६–७ वर्षको लेखापरीक्षण, वार्षिक साधरणसभा गरेको भनेकोमा, २ वर्षको वार्षिक साधरण सभा घोषणा भएर नभएको र ३ वर्षको बीमा प्राधिकरणमा स्वीकृतिका लागि पहिले नै पेस गरिएको र हाल आएर स्वीकृत भएर ५ वर्षको वार्षिक साधरणसभा भएको हो।
सीईओ नेपाल सरकार अर्थ मन्त्रालयको स्वीकृति विना विदेश तालिममा सहभागी भएको।
कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवा तथा कामकारबाहीमा कुनै पनिी अवरोध नरहेको र जिम्मेवार कर्मचारीबाट व्यावसायिक प्रतिस्पर्धा छविमा आँच आउने कुनै पनी गतिविधि नरहेको । कम्पनीको सीईओ सुन्दर पन्थीको व्यक्तिगत व्यवहारका कारणवाट कम्पनी पीडित हुनु हुँदैन भन्ने कुरामा हामी सम्पुर्ण कर्मचारी सजग छौँ।
अन्तत यस कम्पनी परिवारसँग संलग्न सम्पूर्ण सरोकारवालाबीच समन्वयन एवं छलफल गरी सहज वातावरण बनाउन आवश्यक रहेको।

