२८ फागुन, २०८२काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका छन् । बिहीबार एक कार्यक्रममा बोल्दै उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिए ।
‘चेक ब्याउन्स हुने बित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौं । कालोसूचीमा पर्नेहरूको सूची छोटो कसरी बनाउने विषयमा लागिरहेका छौँ,’ उनले भने, ‘चेक बाउन्स र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको देखिएको छ । कालोसूचीमा राख्नुपर्ने कति हुन । कालोसूचीमा नराख्नुपर्ने कति हुन भन्ने विषयमा हामीले हेरिराखेका छौं । यसको बारेमा मैले विस्तृत रुपमा हेरिरहेको छु ।’
गभर्नर पौडेलले धेरै कडाइ गरेर वा थुनेर मात्रै व्यापार व्यवसाय नचल्ने पनि बताए । उनले भने, ‘व्यवसाय भनेको कलेज पढाएर मात्रै पुग्ने रैनछ । त्यो व्यापार हुनका लागि विभिन्न खालका हन्डर र ठक्कर खाएपछि मात्रै व्यवस्थित ढङ्गले अघि बढ्ने हुँदा पनि त्यसलाई व्यवस्थित गराउनतर्फ अग्रसर हुन जरुरी छ ।’
उनका अनुसार व्यवसायीलाई गाली गरेर मात्रै मुलुकको विकास नहुने तर्फ पनि ध्यान दिन जरुरी छ । त्यसैले व्यवसायीलाई प्रवर्द्धन गरेर अघि बढाउन जरुरी छ । गभर्नर पौडेलले व्यवसाय गर्न खोज्नेले एक पटक गल्ती गर्दैमा दुःख दिन नहुने बताए ।
फरक प्रसङ्गमा गभर्नर पौडेलले डिजिटल प्रविधिमा आधारित सूचना प्रविधि उद्योगलाई प्रोत्साहन गर्ने नीति अङ्गीकार गर्दै आइरहेको बताए । भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले पनि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै आइरहेको उनको भनाइ छ ।
‘भविष्यमा पनि सूचना प्रविधि उद्योगहरू धेरै वृद्धि हुन्छ भन्ने अपेक्षा राखेका छौं । हामीले बैंक तथा वित्तीय संस्थालाई पनि डिजिटलाइजेसनतर्फ अघि बढ्नका लागि अनुरोध गर्दै आइरहेका छौं,’ उनले भने ।
गभर्नर पौडेलले विगतमा विरगञ्जमा फोटो स्टुडियो र गाडीको वर्कसप तथा ग्यारेज सेन्टरहरू पर्याप्त भए पनि अहिले तिनीहरू क्रमशः कम हुँदै गइरहेको पनि बताए ।
‘अहिले धेरैजसो व्यवसाय डिजिटल प्लेटफर्ममा अघि बढिरहेका छन् । त्यसैले अब उद्यमी तथा व्यवसायले नयाँतर्फ पनि आफूलाई परिवर्तन गर्दै लैजान जरुरी भइसकेको छ,’ उनले भने ।
उनका अनुसार समयानुकूल आफ्नो व्यवसायको डिजिटल रणनीति तयार पारेर अघि बढ्नुपर्ने बेला भइसकेको छ । नेपालका आईटी कम्पनीलाई विदेशी मुलुकमा लगानी गर्नका लागि पनि सहज वातावरण बनाउँदै आइरहेको दाबी गरे ।

