News Portal

  • फोनपेको ‘सक्षम नारी’ अभियान सुरु, महिलामा वित्तीय आत्मविश्वास बढाउने लक्ष्य

    आर्थीकसंसार संवाददाता१८ फागुन, २०८२
    ९ पटक
    १८ फागुन, २०८२

    काठमाडौं । फोनपेले वार्षिक अभियान ‘सक्षम नारी’ को तेस्रो संस्करण औपचारिक रूपमा सार्वजनिक गरेको छ । डिजिटल वित्तीय समावेशीकरणमार्फत महिलामा वित्तीय आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको राष्ट्रव्यापी अभियान मार्च १ देखि मार्च ३१, २०२६ सम्म सञ्चालन हुनेछ ।

    फोनपेले महिलालाई केवल वित्तीय सेवामा पहुँच दिलाउने मात्र नभई ती सेवा आत्मविश्वासका साथ प्रयोग गर्न प्रेरित गर्ने लक्ष्य अभियानले लिएको जनाएको छ । नेपालमा महिलाको वित्तीय पहुँच बढ्दै गए पनि वास्तविक सशक्तीकरणका लागि विश्वास, समझदारी र प्रयोग महत्वपूर्ण रहेको फोनपेको अनुभव छ ।

    ‘सक्षम नारी’ अभियानले यही अन्तरलाई सम्बोधन गर्दै क्रेडिटप्रति रहेको परम्परागत धारणा परिवर्तन गर्न र जिम्मेवार वित्तीय निर्णयलाई प्रोत्साहन गर्न केन्द्रित रहेको कम्पनीले जनाएको छ । यस वर्षको अभियानले ‘क्रेडिट डराउने विषय हो’ भन्ने सोचलाई चुनौती दिँदै क्रेडिट कार्डलाई वृद्धि, लगानी तथा दैनिक जीवन सहज बनाउने वित्तीय साधनका रूपमा प्रस्तुत गरेको  छ।

    अभियानको केन्द्रमा पूर्ण रूपमा भर्चुअल फोनपे क्रेडिट कार्ड रहेको छ, जुन सहभागी बैंकहरूको मोबाइल बैंकिङ एपमार्फत सक्रिय गर्न सकिनेछ । भौतिक कार्डबिना नै सुरक्षित रूपमा कारोबार गर्न मिल्ने व्यवस्था गरिएको छ ।

    फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले साँचो वित्तीय समावेशीकरण भनेको सेवा उपलब्ध गराउनु मात्र नभई त्यसको प्रयोगमार्फत जीवन सुधार्न सक्ने आत्मविश्वास विकास गर्नु रहेको बताए । उनका अनुसार ‘सक्षम नारी’ अभियानले महिलालाई हिच्किचाहटबाट आत्मविश्वासतर्फ अघि बढ्न सहयोग गर्नेछ ।

    अभियान सिद्धार्थ बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडसँगको सहकार्यमा सञ्चालन भइरहेको छ । सहभागी बैंकका योग्य महिला ग्राहकले फोनपे क्रेडिट कार्ड सक्रिय गरी अभियान अवधिभित्र न्यूनतम तीन वटा कारोबार पूरा गरेर सहभागिता जनाउन सक्नेछन् ।

    यो पहल नयाँ तथा विद्यमान दुवै प्रयोगकर्ताका लागि खुला रहेको छ भने पहिलोपटक प्रयोग सुरु गर्नेहरूलाई विशेष प्रोत्साहनको व्यवस्था गरिएको छ ।

    अभियानअन्तर्गत फोनपेले साजुना ज्वेलर्ससँग सहकार्य गर्दै आकर्षक उपहार घोषणा गरेको छ । प्रत्येक सहभागी बैंकबाट पाँच जना विजेताले डायमण्ड गहना सेट प्राप्त गर्नेछन्, जुन पुरस्कार अभियान अवधिमा पहिलोपटक फोनपे क्रेडिट कार्ड सक्रिय गर्ने नयाँ प्रयोगकर्ताका लागि मात्र हुनेछ। साथै, प्रत्येक बैंकबाट ५० जना विजेताले ५ हजार रुपैयाँ बराबरको छुट भौचर प्राप्त गर्नेछन् ।

    फोनपेले ‘सक्षम नारी २०२६’ अभियानमार्फत वित्तीय पहुँचसँगै वित्तीय आत्मविश्वास निर्माण गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको जनाएको छ। अभियानले देशभरका महिलालाई आत्मनिर्भर वित्तीय निर्णयमार्फत आफ्नो आर्थिक भविष्य निर्माण गर्न प्रेरित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्