१७ फागुन, २०८२काठमाडौं । श्री स्टील्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक शेयरको निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
श्री स्टील्स लिमिटेड एक पूर्ण स्वचालित प्लान्ट हो जसले टीएमटी रिबारहरुको निर्माणमा विशेषज्ञता हासिल गरेको छ । नेपाल जस्तो भौगोलिक जटिलता र भुकम्पीय जोखिम रहेको देशको संरचना निर्माणमा अत्याधिक बलिया संरचनाहरु निर्माणमा ध्यान दिनुपर्ने हुन्छ ।
श्री स्टील्स नेपालको पहिलो ब्राण्ड हो जोसंग टीएमटी रिबारहरुको उत्पादनको लागि सिक्स स्ट्यान्ड ब्लक मिलको अत्याधुनिक जापानी प्रबिधिमा आधारित उपकरण रहेको छ । विश्वमा उपलब्ध भएका सबैभन्दा उत्तम प्रविधि प्रयोग गरेर नेपालमा सम्भव भएसम्म उत्कृष्ठ उत्पादन गरी नेपालको औद्योगिक आधारलाई बलियो बनाउनु र इमान्दारी तथा निष्ठाका साथ देश निर्माणका लागि आवश्यक फलाम तथा रड जन्य पदार्थमा देशलाई आत्मनिर्भर बनाउँने र रोजगारी सृजना गर्ने यस कम्पनीको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
आज भएको सो सम्झौतामा स्टील्स लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध संचालक राजेश कुमार अग्रवाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

