News Portal

  • सानिमा रिलायन्स लाइफबाट ५ पटक एमडीआरटी हुँदा तीन पटक सीओटी बनेका नारायण गुरुङ

    आर्थीकसंसार संवाददाता६ फागुन, २०८२
    १२ पटक
    ६ फागुन, २०८२

    काठमाडौं । बीमा क्षेत्रमा सफलताको शिखर चुम्न धैर्य, निरन्तरता र इमानदार मेहनत चाहिन्छ । यही उदाहरण बनेका छन् उत्तरी धादिङ, खनियाबास गाउँपालिकाका नारायणबहादुर गुरुङ । उनी सानिमा रिलायन्सबाट ५ पटक एमडीआरटीको लक्ष्य हासिल गर्दै गर्दा तीन पटक सीओटी बन्न सफल भए ।

    गुरुङ सानिमा रिलायन्स इन्स्योरेन्सको बनेपा रिजनबाट बीमा व्यवसाय गर्दै आएका छन् । उनी २०६१ सालमा अन्जानमै बीमा क्षेत्रमा प्रवेश गरेका थिए । तर त्यतिबेला बीमालाई निरन्तरता दिन सकेनन् । जीवनले उनलाई अर्कै मोडमा पुर्यायो, झण्डै १० वर्ष वैदेशिक रोजगारका क्रममा गल्फ मुलुकमा बिताए ।

    लामो समय विदेशमा पसिना बगाएपछि स्वदेश फर्किएर उनले फेरि पढाइलाई निरन्तरता दिए । अहिले उनी समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत छन् ।

    null

    गुरुङको वास्तविक अभिकर्ता यात्रा भने काठमाडौंका घरबेटीबाट सुरु भएको हो । अभिकर्ता पेशामा सक्रिय घरबेटीको आग्रहमा उनले लाइसेन्स लिए । घरबेटीको शब्द आज पनि उनलाई स्मरणीय छ ‘तिम्रो कलेज बिहानको रहेछ, पार्ट टाइममा यस्तो गर्न सकिन्छ ।’

    गुरुङ भन्छन्, ‘मैले खासै केही बुझ्या त थिइनँ, तर केही हुन्छ भने गरौं न भन्ने लाग्यो ।’ यही साधारण सोचले उनको जीवनको दिशा नै बदलिदियो ।

    गुरुङको पारिवारिक पृष्ठभूमि पनि रोचक छ । उनका बुवा इन्डियन आर्मीमा कार्यरत थिए । त्यसैले उनको जन्म भारतमा भयो । तर अध्ययन भने उत्तरी धादिङको खनियाबास गाउँपालिकास्थित बत्सलादेवी माध्यमिक विद्यालयबाट पूरा गरे । घरमा आमाबुवा, तीन जना दाजुभाइ र दुई बहिनी गरी ठूलो परिवार ।

    विदेशबाट फर्किएपछि भूकम्पपछिसम्म दुई–तीन वर्ष खासै केही नगरी समय बित्यो । ‘के गर्ने, कस्तो गर्ने ?’ भन्ने द्विविधाकै बीच उनले फेरि बीमाकै कामलाई पूर्णकालीन रूपमा सुरु गरे । साबिक सानिमा लाइफ इन्स्योरेन्सको सुरुवाती दिनदेखि नै उनी यस यात्रामा जोडिए ।

    सानिमामा प्रवेश गर्नुको प्रसंग पनि विशेष छ । उनले काम गरिरहेको अघिल्लो कम्पनीको सम्पूर्ण टिम नै सानिमा लाइफमा प्रवेश गर्यो । यसले उनलाई नयाँ कम्पनीमा छिट्टै जम्न मद्दत गर्यो । गुरुङ भन्छन्, ‘नयाँ कम्पनीमा अलिकति दुःख पनि हुन्छ, सेवा–सुविधाका कुरा पनि हुन्छन्, अवसर र चुनौती दुवै हुन्छन् ।’

    यही सोचका साथ उनले आफूसँगै टिम निर्माणमा पनि कटिबद्ध भएर काम गरे, जसले सानिमामा उनको जग झनै मजबुत बनायो ।

    आजसम्म उनले साढे ७ सयभन्दा बढी बीमा पोलिसी जारी गरिसकेका छन् । बीमामा सक्रिय भएदेखि उनले आफूलाई पूर्णकालीन रूपमा यही क्षेत्रमा समर्पित गरे । ‘बीमा बाहेक अन्य क्षेत्र रोज्ने सोच नै आएन,’ उनी भन्छन्, ‘मैले अरु केही गर्ने कोसिस नै गरिनँ ।’

    हाल उनको टिममा १५० भन्दा बढी अभिकर्ता आबद्ध छन् ।

    गुरुङ बीमालाई केवल वित्तीय उत्पादन नभई भोलिको सुरक्षित जीवनको आधारका रूपमा प्रस्तुत गर्छन् ।

    उनी बीमा ‘गरौं, गराऔं’ भन्ने शैलीमा भन्दा पनि जीवनसँग जोडेर बुझाउने प्रयास गर्छन् । भन्छन्, ‘म बीमालाई सामान्य भाषामा सोझो पाराले बुझाउँछु । गाँस, बास, कपासपछि स्वास्थ्य र शिक्षा प्राथमिकतामा राख्नुपर्छ । स्वास्थ्य र शिक्षाका लागि बचत अनिवार्य हुन्छ ।’

    उनको व्यवसायिक यात्राको अर्को महत्त्वपूर्ण पक्ष अन्तर्राष्ट्रिय स्तरको मान्यता एमडीआरटी हो । गुरुङले सानिमा रिलायन्सबाट निरन्तर ५ पटक एमडीआरटी हासिल गरिसकेका छन् । यसमध्ये ३ पटक सीओटी र २ पटक एमडीआरटी छन् ।

    सानिमा रिलायन्स लाइफमा आबद्ध हुनु अघि काम गरेको कम्पनीमा पनि उनी एमडीआरटी क्वालिफाइड भए तापनि औपचारिक दाबी नगरेको उनी बताउँछन् । सन् २०२२ देखि २०२६ सम्म यो पटकसहित उनले ५ पटक एमडीआरटीमा दर्ता गरिसकेका छन् । सीओटी उपलब्धि भने २०२२, २०२५ र २०२६ मा हासिल गरेका हुन् ।

    व्यवसायिक प्रदर्शनका आधारमा सानिमा रिलायन्स लाइफमा उनी अग्रणीमध्ये एक मानिन्छन् । कम्पनीभित्र रोल मोडलका रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन् ।

    गुरुङको दृष्टिमा बीमा भनेको केवल जोखिम व्यवस्थापन मात्र होइन, भोलिको बचत र परिवारको आर्थिक सुरक्षाको माध्यम पनि हो ।

    प्रतिकृया दिनुहोस्