२२ माघ, २०८२काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चार दिने ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ उत्साहजनक तथा उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ ।
माघ १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रमअन्तर्गत औपचारिक सत्र सुकुटेमा आयोजना गरिएको थियो भने सहभागीलाई दोलखा जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक र शैलुङ भ्रमण गराई ताजगी, प्रेरणा र टोलीभाव अभिवृद्धि गर्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको मध्यावधि व्यवसायिक प्रगति समीक्षा, आगामी रणनीति निर्माण तथा कर्मचारीको मनोबल उच्च बनाउने उद्देश्यले आयोजित सम्मेलनमा व्यवस्थापन टिम, विभाग प्रमुख तथा देशभरका शाखा व्यवस्थापकसहित ७७ जना सहभागी थिए ।
कार्यक्रममा चालु आर्थिक वर्षको मध्यावधिसम्मको व्यवसायिक उपलब्धिको समीक्षा गर्दै आगामी लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीतिबारे विस्तृत छलफल गरिएको थियो ।
सम्मेलनको मुख्य आकर्षणका रूपमा चालु आर्थिक वर्षको मध्यावधिसम्म १०० प्रतिशत व्यवसायिक लक्ष्य हासिल गर्न सफल भएका ४८ जना शाखा व्यवस्थापकलाई व्यवस्थापन टिमद्वारा सम्मान गरिएको थियो । यसले शाखा नेतृत्वलाई थप उत्साहित र जिम्मेवार बनाएको कम्पनीको विश्वास छ ।
साथै, कम्पनीका सेवाहरूलाई थप ग्राहक–केन्द्रित, प्रविधिमैत्री तथा सरल बनाउन आवश्यक प्रशासनिक सुधारका विषयमा पनि छलफल गरिएको थियो । सेवा प्रक्रिया छिटो, पारदर्शी र सहज बनाउन व्यवस्थापन र शाखा स्तरबीच समन्वय बढाउने विषयमा समेत जोड दिइएको थियो ।
कम्पनीले आगामी दिनमा नवीनतम डिजिटल सेवा विस्तार, नियामकीय निर्देशनको पूर्ण पालना तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै व्यवसायिक लक्ष्य हासिल गर्न प्रतिबद्ध रहने जनाएको छ ।

