News Portal

  • पौने ३ अर्बको बीमा रकम पचाउने षडयन्त्र, सीआईबीले गर्यो भण्डाफोर

    आर्थीकसंसार संवाददाता११ माघ, २०८२
    १०७ पटक
    ११ माघ, २०८२

    काठमाडौं । पर्यटकको उद्धार गरेको दाबी गर्दै गलत कागजात बनाएर बीमा दाबी गर्ने व्यक्तिहरू पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका पर्यटकहरूको नक्कली उद्धार (फेक रेस्क्यू) सम्बन्धी अनुसन्धानको प्रगति विवरण बारेमा जानकारी दिँदै विभिन्न ६ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

    उनीहरूले पौने तीन अर्बको बीमा भुक्तानीको लागि दाबी गर्दा अनुसन्धानबाट गलत काम गरेको भेटिएको हो । विभिन्न कम्पनीबाट २ अर्ब ८७ करोड ८ लाख रुपैयाँ भुक्तानीका लागि दाबी परेको अनुसन्धानबाट देखिएको हो । उनीहरूमाथि राष्ट्रहित कसुरमा, आपराधिक लाभको कसुर र संगठित अपराधमा र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी छ ।

    सीआईबीले यो काममा संलग्न देखिएको भन्दै अल्पाइन रेस्क्यू सर्भिसका अध्यक्ष जयप्रसाद सिग्देल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अध्यक्ष रविन्द्र अधिकारी, सोही कम्पनीका म्यानेजर विवेकराज थपलिया, एभरेष्ट इक्सपेरियनस एण्ड एसिस्टका प्रबन्ध सञ्चालक मुक्ति पाण्डे र सञ्चालक सुभाष केसीलाई पक्राउ गरेको हो ।

    सीआईबीको अध्ययन प्रतिवेदनअनुसार माउन्टेन रेस्क्यू सर्भिसले १ हजार २४८ जनामध्ये १७१ जनाको शंकास्पद रेस्क्यू देखिने १ करोड ३ लाख १० हजार अमेरिकी डलर अर्थात् नेपाली डेढ अर्ब रुपैयाँ दाबी गरेका थिए ।

    त्यस्तै, नेपाल चार्टर सर्भिसले ४७१ जनाको रेस्क्यू गरेकोमध्ये ७५ जना शंकास्पद रेस्क्यू देखिने ८२ लाख ३४ हजार बढी अर्थात् करिब १ अर्ब २० करोड रुपैयाँ दाबी गरेको भेटिएको छ भने एभरेष्ट एक्सपेरियन्स एण्ड एसिस्टेन्सले ६०१ जनामध्ये ७१ जना पर्यटकको शंकास्पद रेस्क्यू देखिएकोमा कुल ११ लाख ५३ हजार अर्थात् १६ करोड ८१ लाख ७१ हजार नेपाली रुपैयाँ बराबरको बीमा दाबी गरेको प्रारम्भिक छानबिनबाट देखिएको छ ।

    प्रतिकृया दिनुहोस्