News Portal

  • लुम्बिनी सिरेमिक्स र नबिल बैंकबीच डिलरलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्न साझेदारी

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०८२
    २११ पटक
    ११ मंसिर, २०८२

    काठमाडौं । लुम्बिनी सिरेमिक्स लिमिटेडले उत्पादन गर्ने लामिनार टाइल्सको वितरण सञ्जाल सुदृढ बनाउन नबिल बैंकसँग च्यानल फाइनान्सिङ सुविधा उपलब्ध गराउने सम्झौता गरेको छ । काठमाडौंमा आयोजित समारोहमा लुम्बिनी सिरेमिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेक राज भट्टबीच सम्झौता–पत्रमा हस्ताक्षर गरी आदान–प्रदान गरिएको हो ।

    सहयोग सम्झौता अनुसार देशभरका लामिनार टाइल्सका डिलरहरूले अब बैंकमार्फत सहज रूपमा चालु पूँजी प्राप्त गर्न सक्नेछन् । यसले इनभेन्टरी व्यवस्थापन प्रभावकारी बनाउने र व्यवसाय सञ्चालन थप सुदृढ गर्ने कम्पनीको अपेक्षा छ ।

    नबिल बैंकले डिलरहरूको सुविधाका लागि ०.५ प्रतिशत ऋण प्रशासकीय शुल्क, एलसी तथा बैंक ग्यारेन्टी जारी गर्दा छुट, कर्पोरेट मोबाइल बैंकिङ, सेफ–डिपोजिट लकर तथा पिओएस मेसिन शुल्कमा ५० प्रतिशत छुटका साथै निःशुल्क एसएमएस ट्रान्जेक्सन अलर्ट सेवा उपलब्ध गराउने जनाएको छ । त्यस्तै, मुख्य कर्मचारीका लागि अधिकतम पाँच लाख रुपैयाँ सीमासहित निःशुल्क क्रेडिट कार्ड तथा नबिल केयरअन्तर्गत क्रिटिकल इलनेस बीमा सुविधा पनि प्रदान गरिनेछ ।

    दुवै संस्थाले यो सहकार्यले डिलरहरूको तरलता बढाउने, आर्थिक बोझ घटाउने र नेपालको टाइल उद्योगलाई दिगो रूपमा प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्