७ कार्तिक, २०८२काठमाडौं । भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिकसम्ममा लक्ष्यभन्दा १ अर्ब १५ करोड ७८ लाख ५१ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार साउनदेखि कात्तिकसम्म प्रत्येक महिना राजस्वको लक्ष्य प्राप्ति भएको छ । ४ महिनामा आन्तरिक राजस्व विभागले दिएको लक्ष्यभन्दा बढी सङ्कलन गर्न सफल भएको उनले बताए ।
४ महिनामा ४ अर्ब २३ करोड ६८ लाख १४ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएको यो कार्यालयले ५ अर्ब ३९ करोड ४६ लाख ६५ हजार रुपैयाँ सङ्कलन गर्न सफल भएको छ । यो लक्ष्यको २७.३ प्रतिशतले बढी र लक्ष्यको १२७.३ प्रतिशत सङ्कलन भएको प्रमुख कर अधिकृत पोख्रेलले जानकारी दिए ।
‘गत आवको तुलनामा राजस्व सङ्कलन ५१.५ प्रतिशतले वृद्धि भएको छ । चारै महिना हामीले लक्ष्य हासिल गरेका छौँ,’ उनले भने ।
राजस्व सङ्कलनको जम्मा लक्ष्यमा अन्तःशुल्कको ठूलो हिस्सा अर्थात् ८२.६ प्रतिशत रहेको उनले जानकारी दिए ।
‘मूल्य अभिवृद्धि कर, आयकर पनि राम्रै असुली भएको छ । तर ठूलो हिस्सा अन्तःशुल्कको देखिन्छ,’ कर अधिकृत पोख्रेलले भने ।
आव २०८१/८२ मा कार्यालयले साउनदेखि कात्तिकसम्म ३ अर्ब ५६ करोड २ लाख ६१ हजार रुपैयाँ सङ्कलन गरेको थियो । राजस्व असुलीमा एकदमै राम्रो र उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको छ । कार्यालय अन्तर्गतका उद्योगी-व्यवसायी र कर प्रशासनको संयुक्त ‘टिमवर्क’बाट नै यो सम्भव भएको प्रमुख कर अधिकृत पोख्रेलले बताए । आन्तरिक राजस्व कार्यालय भैरहवा अन्तर्गत ६४ हजारभन्दा बढी करदाता छन् ।




