५ कार्तिक, २०८२काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नबिल बैंकलाई अग्राधिकार शेयर जारी गर्न अनुमति दिएको छ।
धितोपत्र बोर्डले आज मंसिर ५ गते नबिल बैंकलाई ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर ल्याउन अनुमति दिएको हो। अब नबिल बैंकले ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्नेछ।
नबिल बैंकको अग्राधिकार शेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ। नबिलले बैंकको व्यापार वृद्धि तथा जोखिमलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकोले अग्राधिकार शेयर जारी गरिने जनाएको छ।
गत असारको तेस्रो साता धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा नवौँ संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई अग्राधिकार शेयर जारी गर्ने बाटो खोलिदिएको थियो। नेपाल राष्ट्र बैंकले अग्राधिकार शेयरमा दिएको ग्रीन सिग्नलको १ वर्षपछि धितोपत्र बोर्डले बाटो खुलिदिएको हो।
के छ अग्राधिकार शेयर ल्याउने प्रावधान ?
संशोधित निर्देशिकामा राष्ट्र बैंकबाट स्वीकृति लिएरमात्रै अग्राधिकार शेयर जारी गर्न बैंक तथा वित्तीय संस्थाले धितोपत्र बोर्डमा आवेदन दिन सक्ने प्रावधान तोकिएको छ। बैंक तथा वित्तीय संस्थाले अंकित मूल्य १०० रुपैयाँमा अग्राधिकार शेयर जारी गर्न पाउने व्यवस्था छ।
यसैगरी बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जनाभन्दा कम हुने गरी संस्थागत लगानीकर्तालाई मात्र अग्राधिकार शेयर जारी गर्न पाउनेछन्। यसमा सर्वसाधारण लगानीकर्ता, बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउने छैनन्।
अग्राधिकार शेयरका लागि राष्ट्र बैंकले पनि विभिन्न मापदण्ड तय गरेको छ।
पुँजी कोषको दबाबमा रहेका बैंकहरुलाई राहात
अग्राधिकार शेयर ल्याउने बाटो खुलेपछि प्राथमिक पुँजी कोषको न्यूनतम सीमा पनि कायम गर्न नसकेका बैंकहरुलाई राहात हुने भएको छ। यससँगै पुँजी कोषको दबाबले व्यवसाय विस्तार गर्न नसकेका बैंकहरुलाई अग्राधिकार शेयर उपयुक्त विकल्प बन्न सक्छ।
पुँजी कोष दबाबमा रहेकामध्ये केही बैंकहरुले अग्राधिकार शेयर जारी गर्नका लागि अनुमति माग्दै राष्ट्र बैंकमा निवेदन दिइसकेका छन्। राष्ट्र बैंकको स्वीकृतिपछि ती बैंकहरु अग्राधिकार शेयर जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुग्नेछन्।
अग्राधिकार शेयरको अनुमति पर्खाइ यी बैंक
एनएमबि बैंकको २९ औँ वार्षिक साधारणसभाले अग्राधिकार शेयर ल्याउने प्रस्ताव पारित गरिसकेको छ। बैंकले प्रतिशेयर १०० रुपैयाँ दरले ३ अर्ब रुपैयाँबराबरको ‘एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ ल्याउने तयारी गरेको छ। अग्राधिकार शेयर जारीपछि बैंकको हालको अधिकृत पुँजी २० अर्ब रुपैयाँ बढेर २५ अर्ब रुपैयाँ कायम हुनेछ। अग्राधिकार शेयर जारीपछि बैंकको हाल कायम जारी तथा चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँलाई वृद्धि गरी २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँ कायम हुनेछ।
सिद्धार्थ बैंकको २३ औँ वार्षिक साधारणसभाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ अर्ब ५० करोड रुपैयाँबराबरको ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नियमनकारी निकायको स्वीकृतिपश्चात जारी गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ। अग्राधिकार शेयर जारीपछि बैंकको पुँजी वृद्धि गर्नुपर्ने भएकोले हालको अधिकृत पुँजी १६ अर्ब रुपैयाँलाई वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव र जारी पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँलाई वृद्धि गरी १७ अर्ब ५८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँ कायम हुनेछ।
एनआईसी एसिया बैंकको २७ औँ वार्षिक साधारणसभाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ५ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने मुख्य प्रस्ताव अनुमोदन गरिसकेको छ। अग्राधिकार शेयर जारीपछि बैंकको साबिकको अधिकृत पुँजी १४ अर्ब ९२ करोडलाई वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ, जारी पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ र चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ कायम हुनेछ।
उता सानिमा बैंकको २१ औँ वार्षिक साधारणसभाबाट अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित भइसकेको छ। बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने तयारी गरेको छ। यो अग्राधिकार शेयरको वार्षिक प्रतिफल ८.२५ प्रतिशत रहेको छ। अग्राधिकार शेयर जारीपछि अधिकृत पुँजी २० अर्बलाई बढाएर २२ अर्ब रुपैयाँ पुग्नेछ।
त्यस्तै राष्ट्र बैंकबाट कामना सेवा विकास बैंकले पनि अग्राधिकार शेयर जारी गर्न पूर्वस्वीकृति पाइसकेको छ। बैंकले कुल ३५ करोड रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी लागेको छ। बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३५ लाख कित्ता अग्राधिकार शेयर जारी गर्नेछ। यो अग्राधिकार शेयरको लाभांश दर ९ प्रतिशत रहेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिनेछ।
त्यस्तै मुक्तिनाथ विकास बैंकको १८ औँ वार्षिक साधारणसभाले १०० रुपैयाँ अंकित दरले २ अर्ब रुपैयाँबराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न नियमनकारी निकायबाट स्वीकृति लिने विशेष प्रस्ताव पारित गरिसकेको छ। अग्राधिकार शेयर जारीपछि बैंकको हाल कायम जारी तथा चुक्तापुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९.८ रुपैयाँबाट वृद्धि गरी ८ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९.८ रुपैयाँ कायम हुनेछ।
अन्य बैंकहरुले अग्राधिकार शेयर जारी गर्ने तयारी गरिरहेका छन्।




