२५ कार्तिक, २०८२काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ११ प्रतिशत बढेर १२ करोड ८० लाख २० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५३ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आवको असोजसम्म कम्पनीको खुद बीमा शुल्क १८.७४ प्रतिशत बढेर २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
असोजसम्ममा कम्पनीको दाबी भुक्तानी १४.८२ प्रतिशत बढेर ३ अर्ब २६ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा कम्पनीले २ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १२.२८ प्रतिशत बढेर ३ अर्ब ९५ करोड ५० लाख रुपैयाँ र कुल खर्च १२.१७ प्रतिशत बढेर ३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजमा कम्पनीले ३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ कुल आम्दानी गरेर ३ अर्ब ३६ करोड ९ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
५ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको महाविपत्ति कोषमा ४२ करोड ५७ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा १ अर्ब ४ करोड रुपैयाँ र अन्य इक्विटीमा २५ करोड ७३ लाख रुपैयाँ सञ्चित छ ।
नाफासँगै इन्स्योरेन्स कम्पनीको प्रतिसेयर आम्दानी १.०१ रुपैयाँ बढेर १०.२२ रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३४.४२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३९.८६ गुणा रहेको छ ।




