१६ कार्तिक, २०८२काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरास्थित होटल वाटरफ्रन्टमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको सभापतित्वमा आयोजना गरिएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशबाट बीमाशुल्क संकलन गरी योग्य ठहरिएका २२० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।
सीईओ खत्रीले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशबाट सीईओ क्लब सदस्यमा चयन भएका अभिकर्तालाई सदस्यता प्रमाणपत्र वितरण तथा विशेष सम्मान गरिएको थियो । साथै, आफ्नै कोड र संजालमा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई पुरस्कार प्रदान गरियो ।
सो अवसरमा गण्डकी प्रदेशबाट ‘नेशनल रत्न’ तथा ‘नेशनल स्टार’ उपाधि प्राप्त अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादासहित सम्मान गरिएको थियो ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले भने, ‘सीईओ क्लब र नेशनल अवार्ड योजना अन्तर्गत प्रदेश-प्रदेशमा सम्मान कार्यक्रम गर्दै जाने कम्पनीको योजना हो । गण्डकी प्रदेशबाट शुरुवात गरिएको यो कार्यक्रम अब अन्य प्रदेशहरूमा निरन्तर सञ्चालन गरिनेछ ।’ उनले थपे, ‘कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा ‘सीईओ क्लब सदस्यता योजना’ सुरु गरिएको हो र यसमा हालसम्म १६०० भन्दा बढी अभिकर्ता चयन हुनु योजना सफलताको सूचक हो ।’
कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले तालिम प्रदान गरेका थिए । बीमा क्षेत्रमा सफल हुनका लागि धेरै व्यक्तिसँग सम्पर्क विस्तार गरी बीमा पोलिसी प्रस्ताव गर्न सक्ने ज्ञान र आत्मविश्वास आवश्यक हुने उनको भनाइ थियो ।
सम्मान कार्यक्रमपछि अभिकर्ताहरूले यो प्रशिक्षणले आफूहरूमा व्यवसायिक ऊर्जा र प्रेरणा थपेको प्रतिक्रिया दिएका छन् । सम्मान प्राप्त अभिकर्ताहरूले भने, ‘हाम्रो मेहनतको कदर गरिएको महसुस भयो, यसले अझ राम्रो काम गर्ने उत्साह जगाएको छ ।’




