News Portal

  • मेची भन्सारबाट १२.२८ अर्बको सामान आयात हुँदा २१.८ प्रतिशत घट्यो निर्यात

    आर्थीकसंसार संवाददाता७ कार्तिक, २०८२
    १३ पटक
    ७ कार्तिक, २०८२

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट १२ अर्ब २८ करोड ३० लाख रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।

    जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १ अर्ब ४४ करोड २७ लाख रुपैयाँ अर्थात् १३.३१ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईंले जानकारी दिए ।

    उनका अनुसार गत आवको पहिलो त्रैमासिकमा १० अर्ब ८४ करोड ३ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा ४ अर्ब ८० करोड ३९ लाख रुपैयाँ बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा ६ अर्ब ८ करोड ६९ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो । यो नाकाबाट निर्यात २१.८ प्रतिशतले घटेको कार्यालयका सूचना अधिकारी हुमागाईंले बताए ।

    पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिस लगायत रहेका छन् भने आयात हुने मुख्य मालवस्तुहरुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चा पदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडालगायत रहेका छन् ।

    कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८२/८३ को पहिलो त्रैमासिकमा आयात निर्यातबाट ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १५.६९ प्रतिशत अर्थात् ५६ करोड २९ लाख ९७ हजार रुपैयाँले बढी हो ।

    प्रतिकृया दिनुहोस्