News Portal

  • विदेशी लगानीमा उत्साहजनक वृद्धि, तीन महिनामै ३५ अर्बको प्रतिबद्धता

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०८२
    ११ पटक
    ५ कार्तिक, २०८२

    काठमाडौं । पछिल्ला वर्षहरूमा वैदेशिक लगानी बढेर गएको छ । उद्योग विभागकाअनुसार पछिल्लो तीन महिनामा मात्रै ३५ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।

    गत साउनदेखि असोज मसान्तसम्ममा ३ सय ११ वटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । चालु आर्थिक वर्षमा सात वटा ठूला, चारवटा मध्यम र ३०० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ भने गत असोजमा मात्र ७५ वटा साना उद्योगमा २ अर्ब ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

    हालसम्म विभागले सात हजार ५५० वटा उद्योगमा खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता स्वीकृत गरिसकेको छ । गत साउनदेखि असोज महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका १६२ वटा उद्योगका लागि १५ करोड ३७ लाख ३२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

    रकमका आधारमा भने पर्यटनमूलक क्षेत्रका १०३ उद्योगमा सबैभन्दा धेरै एक अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा १८ करोड १० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

    आर्थिक वर्ष २०८१/८२ मा उद्योग विभागबाट स्वीकृत कुल विदेशी लगानी ७४ अर्ब ९७ करोड रहेको थियो । आर्थिक वर्ष २०८०/८१ मा ६१ अर्ब ९० करोड बराबरको विदेशी लगानी स्वीकृत भएको थियो । २०८२ असारसम्ममा ६ खर्ब ५१ अर्ब ४५ करोड बराबरको कुल विदेशी लगानी उद्योग विभागबाट स्वीकृत भएको थियो ।

    प्रतिकृया दिनुहोस्