
काठमाडौं । अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट भएको छ । असोज १० गते अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि युरोपियन युनियन, जर्मनी, फिनल्याण्ड र फ्रान्सका राजदूतबीच संयुक्त शिष्टाचार भेटघाट भएको हो ।
भेटघाटमा अर्थमन्त्री खनालले युरोपियन युनियन, फ्रान्स, जर्मनी र फिनल्याण्डले नेपालको विकास प्रक्रियामा पुर्याउँदै आएको लामो समयको योगदानप्रति धन्यवाद व्यक्त गरेका छन् । छलफलका क्रममा युरोपियन युनियनले सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद र मानव संसाधन विकास क्षेत्रमा गरेको योगदानको चर्चा भएको छ । त्यस्तै, फ्रान्स, जर्मनी र फिनल्याण्डले स्वास्थ्य, पर्यटन, ऊर्जा र राजस्व क्षेत्रमा गरेका सहयोगबारे छलफल भएको जनाइएको छ ।
राजदूतहरुले नेपालमा हालैको राजनीतिक परिवर्तन पश्चात पनि सरकारसँग सहकार्य गर्न सधैं तयार रहेको बताएका छन् ।
त्यसै दिन अर्थमन्त्री खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानिली म्यूलेबीच पनि अर्थ मन्त्रालयमा आपसी हितका विषयमा शिष्टाचार भेट भएको छ ।
मन्त्री खनालले स्वीट्जरल्याण्ड नेपालको असल मित्र भएको र सार्वजनिक वित्त व्यवस्थापन, व्यवसायिक तालिम, प्रादेशिक तथा स्थानीय सुशासन र क्षमता विकासमा गरेको योगदानको लागि धन्यवाद व्यक्त गरेका छन् । स्वीस राजदूतले आगामी दिनमा समेत नेपाल सरकारसँग सहकार्य गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।