
काठमाडाैं। तन्नेरी पुस्ताको सहभागिता रहेको ‘जेन जी’ को आन्दोलनको दोश्रो दिन देशभर भएको तोडफोड र आगजनीमा झण्डै १५ खर्ब रूपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ।
निर्जीवन बीमा कम्पनीहरूका अनुसार, क्षतिको प्रारम्भिक आंकलन अनुसार, यस पटक करिब करिब २०७२ सालको महाभूकम्पको बेला व्यहोर्नु परेको क्षति देशले व्यहोर्नुपरेको छ।
प्रदर्शनकारीको आक्रमणका क्रममा भएको भाटभटेनी सुपर स्टोर, हिल्टन होटल, एनसेल, नेपाल टेलिकम, ग्लोबल कलेज, निजी तथा सार्वजनिक सवारी साधन, उद्योग गोदाम, सेन्ट्रल बिजनेश पार्क थापाथली, कान्तिपुर र अन्नपूर्ण पोष्ट पत्रिकाको मुख्यालय, वायू सेवा सञ्चालक रामेश्वर थापाको निजी हेलिकप्टर, सिजी पार्क सतुङ्गल, कार शोरूमहरूमा तोडफोड, आगजनी र लुटपाटबाट हुन पुगेको क्षतिको भार निर्जीवन बीमा कम्पनीहरूले व्यहोर्नुपर्नेछ।
निर्जीवन बीमकका अनुसार, हिल्टन होटलको ६ अर्ब रूपैयाँ, सिजी पार्कको २ अर्ब रूपैयाँ, भाट भटेनीको एउटा सुपर स्टोरको २५ देखि ७० करोड रूपैयाँसम्मको क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यसबाहेक कार शोरूम र निजी सवारी साधनहरूमा भएको आगजनीमा झण्डै ३ सय वटा चारपाङ्ग्रे सवारी साधन क्षतिको दाबी पर्ने प्रारम्भिक आंकलन गरिएको छ। यस आधारमा प्रति सवारी ३० लाख रूपैयाँका दरले ३ सय वटा सवारी साधनको मात्रै ९० करोड रूपैयाँ बराबरको क्षति भएको हुनसक्ने अनुमान छ।
नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र बहादुर वैदवारले ठूला क्षतिको हकमा भन्दा पनि स साना क्षतिको भार स्वदेशी बीमकको काँधमा अधिक पर्ने बताए। अधिकांश ठूला बीमाङ्कको पुनर्बीमा गरिएकाले बीमकले धेरै भार व्यहोर्नुपर्दैन, उनले इन्स्योरेन्स खबरसँग कुराकानीमा भने, तर सानो बीमाङ्कको शत प्रतिशत धारण बीमक स्वयमले नै गर्ने भएकाले अधिक भार पर्छ।
उनका अनुसार, निर्जीवन बीमकका लागि मोटरकारको क्षति वापतको बीमा दाबीको भार सर्वाधिक पर्ने देखिएको छ।
पछिल्ल्लो समयमा साढे २ अर्ब रूपैयाँ चुक्ता पूँजी पुर्याएका निर्जीवन बीमकले चुक्ता पूँजी दोब्बर बढेको भन्दै स्वधारण बढाएर २० लाखदेखि ३० लाख रूपैयाँसम्म कायम राखेका छन्। अर्थात यो रकमसम्मको क्षति बीमक स्वयमले नै व्यहोर्ने गरी पुरै जोखिम ग्रहण गरेका हुन्छन्।
संसद भवन, सिंहदरबार, राष्ट्रपति निवास,प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास भैंसेपाटी, प्रदेश सरकारको भवन, र प्रहरी कार्यालयको साथै राजनीतिक दलका नेताहरूको निजी आवास समेत गरी ठूलो क्षति भएपनि यी संरचनाहरूको बीमा नगरिएकाले बीमा कम्पनीहरूले भार व्यहोर्नुपर्ने अवस्था छैन। सरकारले सार्वजनिक र सरकारी भाैतिक संरचनाको बीमाका लागि बजेट नै विनियोजन नगरेकाले कुनै पनि सम्पत्ति र सवारी साधनको समेत पूर्ण बीमा गरिएको छैन।
अहिलेको आन्दोलनका क्रममा प्रदर्शनकारीको तर्फबाट भएका आगजनी र तोडफोडमा भएको क्षतिको क्षतिपूर्ती हुलदङ्गा जोखिम बीमा अन्तर्गत निर्जीवन बीमा कम्पनीहरूले व्यहोर्नुपर्नेछ।
नेपाल बीमक संघका निवर्तमान अध्यक्ष चंकी क्षेत्रीले क्षतिको आँकडा प्रारम्भिक अनुमान भन्दा बढी हुन सक्ने बताए। यद्दपी अहिले देखिएको र जानकारीमा अाएको सबै जोखिमको बीमा भने नभएकाले बीमकमाथि पर्ने आर्थिक दबाब यकीन गर्न केही समय कुर्नुपर्ने धारणा व्यक्त गरे।
माओवादीको भूमिगत आन्दोलनपछि नेपालमा अनिवार्य गरिएको हुलदङ्गा बीमा अहिले नेपाल पुनर्बीमा कम्पनीले पुलमार्फत सञ्चालन गरिरहेको छ। यो जोखिम अन्तर्गत १० करोड रूपैयाँ सम्मको बीमाङ्कको क्षतिको लागि सम्बन्धित बीमकले ३५ प्रतिशत र बाँकी नेपाल पुनर्बीमाले व्यहोर्ने समझदारी छ।
नेपालमा हुलदङ्गाको घटनाहरू बन्द भइसकेकाले जबरजस्ती हुलदङ्गा बीमाको भार थोपरेको भन्दै निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य संघले यसलाइ स्वेच्छिक बनाउनुपर्ने माग गर्दै आएको थियो। यद्दपी नेपाल बीमा प्राधिकरणले यसलाइ निरन्तरता दिंदै आएको छ।
नेपाल पुनर्बीमा कम्पनी प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले हुलदङ्गाका कारण भएको क्षतिको प्रारम्भिक आँकडा संकलन गर्ने काम भइरहेपनि अहिलेसम्म सबैतिरबाट जानकारी प्राप्त भइ नसकेको बताए। क्षतिका कारण हुलदङ्गा बीमा पुलमा पर्ने दबाब र पुनर्बीमा सम्बन्धमा जिज्ञासा राख्दा थापाले भने, हामीले पुनर्बीमा गरेका छाैं, पुनर्बीमा व्यवस्थाले पुग्छ भन्ने लाग्छ।
नेपाल पुनर्बीमा सम्बद्ध श्रोतले अहिलेको क्षतिको प्रारम्भिक विवरण अनुसार, नेपाल पुनर्बीमा कम्पनीको काँधमा १ अर्ब रूपैयाँसम्मको दाबीको भार पर्ने अनुमान गरिएको छ।
बीमा गरिएको सम्पत्तिमध्ये सर्वाधिक बीमाङ्कको होटल हिल्टन हो। जगदम्बा हस्पिटालिटी लिमिटेडले सञ्चालन गरिरहेको यो होटलको बीमाङ्क करिब ६ अर्ब रूपैयाँ निर्धारण गरिएको जानकारहरूको भनाई छ। उनीहरूका अनुसार यो होटलको बीमा ओरिएण्टल इन्स्योरेन्स र पुनर्बीमा हिमालयन रिइन्स्योरेन्समा गरिएको छ। यसबाहेक हुलदङ्गा जोखिमवापत बीमा पुलमार्फत नेपाल पुनर्बीमा कम्पनीमा ५० करोड रूपैयाँ बराबरको मात्र पुनर्बीमा जोखिम हस्तान्तरण गरिएको छ।
हिमालयन रिइन्स्योरेन्सले होटलको जोखिमवापतको पर्याप्त पुनर्बीमा व्यवस्था गरेको अवस्थामा हुलदङ्गाबाट भएको क्षतिको नोक्सानी विदेशी पुनर्बीमकले नै व्यहोर्नेछ। यद्दपी पर्याप्त पुनर्बीमा व्यवस्था नभएको अवस्थामा हिमालयन रिइन्स्योरेन्समाथि यसको भार आइपर्नेछ।