आर्थीकसंसार संवाददाता३० जेठ, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार सुदृढीकरणका लागि सुझाव दिन ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेको छ।
केन्द्रीय बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले डा रेवतबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेका हुन्।कार्यदलको सदस्यमा भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्यसचिव रहेका छन्।
कार्यदललाई सुझाव पेस गर्न एक महिनाको समयावधि दिइएको छ।
कार्यदलले यी विषयमा सुझाव दिनुपर्ने
- बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा ।
- आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ।
- ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा ।
- बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा ।
- नेपाललाई ग्रे लिस्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा ।
- पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा ।