
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले कार्यकारी निर्देशक डा. गुणकर भट्टको राजीनामा अस्वीकृत गरेका छन् । गभर्नर डा. पौडेलले कार्यकारी निर्देशक भट्टको राजीनामा अस्वीकृत गरी सरुवा गरेका हुन् ।
गभर्नर बन्न डा.भट्टले गत वैशाख पहिलो साता कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । राजीनामा अस्वीकृत हुँदा डा. भट्ट गभर्नर बन्नबाट बञ्चित भएका थिए भने राजीनामा पत्र पेण्डिङमा रहेको थियो । गभर्नर पौडेलले उनको राजीनामा अस्वीकृत गर्दै सरुवा गरेको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि आर्थिक अनुसन्धान विभाग प्रमुख रहेका कार्यकारी निर्देशक भट्टलाई गभर्नर कार्यालयमा सरुवा गरिएको हो । गभर्नर पौडेलले आर्थिक अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी कार्यकारी निर्देशक डा. रामशरण खरेललाई दिएका छन् । डा. खरेल यसअघि मानव स्रोत व्यवस्थापन विभाग प्रमुख थिए ।
साथै, बैंकिङ विभाग प्रमुख रहेका कार्यकारी निर्देशक विश्रुत थापालाई मानव स्रोत व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी दिएको राष्ट्र बैंकले जनाएको छ ।