News Portal

  • प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका ७ विजेतालाई बीमा प्राधिकरणले गर्‍यो सम्मान

    आर्थीकसंसार संवाददाता५ जेठ, २०८२
    ९ पटक
    ५ जेठ, २०८२

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा शिक्षा र साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ ।

    प्राधिकरणको केन्द्रीय कार्यालय र छवटा प्रदेश कार्यालयमार्फत प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सो प्रतियोगितामा सातवटै प्रदेशबाट एक–एक जना विजेता छनोट गरिएको थियो । विजेताहरूलाई जनही २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो ।

    बागमती प्रदेशका विजेता विद्यार्थीलाई आइतबार ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरे ।

    प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा कोशी प्रदेशबाट विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका धनराज शाह, मधेश प्रदेशबाट बीरगञ्जस्थित नेशनल एकेडेमी क्याम्पसकी कविता कुमारी यादव, र बागमती प्रदेशबाट भक्तपुरस्थित ख्वप कलेज अफ लका दिल बहादुर भण्डारी विजेता घोषित भए ।

    यसैगरी, गण्डकी प्रदेशबाट पोखरा विश्वविद्यालय, स्कुल अफ बिजनेसकी कुसुम क्षेत्री, लुम्बिनी प्रदेशबाट बुटवल कालिका क्याम्पसकी निरा अधिकारी, कर्णाली प्रदेशबाट सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय, शिक्षाशास्त्र संकायकी तारा कुमारी मल्ल र सुदूरपश्चिम प्रदेशबाट धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसकी दिव्या पन्त पनि प्रतियोगितामा विजयी भए ।

    ‘गरीबी न्युनीकरण तथा देशको आर्थिक विकासमा बीमाको महत्व’ शीर्षकमा आधारित निबन्ध प्रतियोगिताका लागि देशभरका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूबाट ८९ वटा निबन्ध प्राप्त भएका थिए । प्राप्त निबन्धहरूमध्ये विषयवस्तु, विश्लेषण, प्रस्तुतीकरण र भाषा सन्तुलनका आधारमा विजेता छनोट गरिएको हो ।

    प्राधिकरणका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा बीमाप्रतिको समझदारी बढाउनुका साथै बीमालाई जोखिम व्यवस्थापनको प्रभावकारी साधनका रूपमा बुझ्न सहयोग पुग्ने विश्वास गरिएको छ।

    प्रतिकृया दिनुहोस्