९ बैशाख, २०८२काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को डिजिटल भुक्तानी प्रणालीमार्फत आफ्ना भुक्तानी कारोबार सञ्चालन गर्ने व्यवस्था लागू गरेको छ।
यस सम्बन्धी सम्झौतापत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि सूर्यज्योति इन्स्योरेन्सको आन्तरिक प्रणाली एनसीएचएलको ‘नेशनल पेमेन्ट इन्टरफेससँग जोडिनेछ। यसमार्फत कम्पनीले विभिन्न डिजिटल भुक्तानी उपकरण प्रयोग गरेर सेवा प्रदान गर्न सक्नेछन् ।
अब सूर्यज्योतिले प्रिमियम संकलन, एजेन्ट कमिशन, कर्मचारी तलब, सेवा प्रदायक भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष लगायतका कारोबार सोझै लाभग्राहीको बैंक खातामा गर्न सक्नेछ। भविष्यमा अन्य भुक्तानी सुविधा पनि क्रमिक रूपमा थपिने जनाइएको छ ।
यस प्रणालीमार्फत सदस्य संस्थाहरूले एनसीएचएल–आइपिएस र आरपिएस प्रणालीको प्रयोग गरी सजिलो, सुरक्षित र डिजिटल माध्यमबाट भुक्तानी कारोबार गर्न सक्नेछन् ।
नेपाल क्लियरिङ्ग हाउससँगको यो सहकार्यले सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिजिटल रूपान्तरण अभियानमा उल्लेखनीय टेवा पुग्ने विश्वास गरिएको छ ।




