

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८ औं वार्षिकोत्सवको अवसरमा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा र विशेष फ्रील्यान्सर सेभिङ अकाउन्ट सुरु गरेको छ ।
बैंकले ‘ब्रिक बैंकिङ टु क्लिक बैंकिङ’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, मोबाइल बैंकिङ एपमार्फत ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको छ । यस सेवाबाट ग्राहकहरूले अफलाइनमै ५ हजार रूपैयाँसम्मको भुक्तानी गर्न सक्नेछन् ।
साथै, क्रस बैंक टेलर क्यूआर प्रणालीमार्फत अन्य बैंकका ग्राहकहरूले सिटिजन्स बैंकको शाखाबाट आफ्नो बैंकको मोबाइल एप प्रयोग गरी नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् । यसले भुक्तानी प्रक्रियालाई थप द्रुत र सुरक्षित बनाउनेछ ।
सिटिजन्स बैंकले ‘सेभ लोकल, अर्न ग्लोबल’ नारासहित फ्रील्यान्सर सेभिङ अकाउन्ट सुरु गरेको छ । यस खाताबाट ग्राहकहरूले नेपाली रुपैयाँ र अमेरिकी डलर दुवैमा खाता खोल्न सक्नेछन् । साथै, पहिलो वर्षमा स्वास्थ्य उपचार बीमा २५ हजार रुपैयाँसम्म, दुर्घटना मृत्यु बीमा ३ लाख रुपैयाँसम्म, र निःशुल्क मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, र डिम्याट खाता सुविधा प्राप्त गर्न सक्नेछन् ।
बैंकले वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा ९२१ कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । साथै, नेपाल रेडक्रस सोसाइटी र हिमाल हस्पिटलको सहकार्यमा ३३ शाखाबाट ९१३ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले डिजिटल बैंकिङमा नवीनतम प्रविधिहरूको प्रयोग गर्दै ग्राहकहरूलाई सहज, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।