

काठमाडौं । ९ महिनाको अवधिमा बैंकिङ क्षेत्रमा नबिल बैंकले सर्वाधिक नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ८.२१ प्रतिशत बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ आर्जन गरेको हो । जुन बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै नाफा हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशत घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १२ अर्ब ५५ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २.२७ प्रतिशत बढेर २ अर्ब २७ करोड ७२ लाख रुपैयाँ, सञ्चालन मुनाफा १४.०३ प्रतिशत बढेर ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी ०.२० प्रतिशत घटेर १५ अर्ब २९ करोड ८२ लाख रुपैयाँ गरेको छ ।
यसअवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँ थियो । वितरणयोग्य प्रतिसेयर आम्दानी १२.६८ रुपैयाँ रहेको छ ।
२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष ८.१३ प्रतिशत बढेर ३४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
चैतसम्म बैंकको निक्षेप संकलन ८.६६ प्रतिशत बढेर ५ खर्ब २ अर्ब १० करोड ६१ लाख रुपैयाँ र कर्जा लगानी ७.३८ प्रतिशत बढेर ४ खर्ब १ अर्ब १६ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १.६५ रुपैयाँ बढेर २४.८९ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.५६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२६.३६ रुपैयाँ रहेको छ ।