News Portal

  • अटोका ग्राहक हायर पर्चेज कम्पनीमा सिफ्ट, राष्ट्र बैंकको व्यवस्थाले बैंकको आम्दानी घट्ने

    आर्थीकसंसार संवाददाता५ बैशाख, २०८२
    ६४ पटक
    ५ बैशाख, २०८२

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा मार्फत व्यक्तिगत सवारीसाधन र सबै प्रकारका विद्युतीय सवारीसाधन (ईभी)को ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशतमा झार्ने घोषणा गर्यो । सोही बमोजिम फागुन १९ गते बैंक तथा वित्तीय संस्थाहरूलाई सो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दियो ।

    ‘बैंक तथा वित्तीय संस्थाले सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा सबै प्रयोजनका विद्युतीय सवारीसाधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारीसाधनका लागि सवारीसाधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।

    तर, अटो व्यवसायीहरूले भने ८० प्रतिशत फाइनान्समै सवारी साधन कर्जा दिइरहेका छन् । अटो कम्पनीहरूले अफरका रूपमा ग्राहक तान्न हायर पर्चेज कम्पनीसँग सहकार्य गरेर ८० प्रतिशत फाइनान्सको सुविधा दिन थालेका हुन् ।

    दीपलको आधिकारिक बिक्रेता चांगन नेपालले ८० प्रतिशत फाइनान्सको अफर ल्याएको छ । कम्पनीले १३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा ८.९९ प्रतिशत ब्याजदर र ४८ घण्टामा कर्जा स्वीकृति हुने गरी आफ्नो अफर ल्याएको हो । एमएडब्लू इन्भेष्टमेन्टसँगको सहकार्यमा दीपल कार खरिद गर्ने ग्राहकहरूलाई ८० प्रतिशत फाइनान्सको सुविधा रहेको कम्पनीले जनाएको छ ।

    ‘राष्ट्र बैंकले ४० प्रतिशत डाउनपेमेन्टमा ६० प्रतिशत फाइनान्सको सुविधा दिनुपर्ने निर्देशन छ । यो व्यवस्था बैंक तथा वित्तीय संस्थाहरूलाई लागू हुने हो । सर्कुलरमा हायर पर्चेज कम्पनीलाई भनिएको छैन,’ चांगन नेपालका एक कर्मचारीले भने, ‘त्यसैले हामीले एमएडब्लू इन्भेष्टमेन्ट कम्पनीबाट ८० प्रतिशतको सुविधा उपलब्ध गराउँछौं । यो इनहाउस अफर हो । केही समयका लागि मात्रै यो अफर सञ्चालन हुन्छ ।’

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ईभी कर्जामा कडाइ गरेपछि ग्राहकको सहजीकरणका लागि हायर पर्चेज कम्पनीसँग सहकार्य गरेको अटो व्यवसायीहरू बताउँछन् । स्कोडा, सेरेस, सेट्रोन, निशान, टाटा लगायतका सवारीसाधन खरिदका लागि सम्बन्धित कम्पनीहरूले हायर पर्चेज कम्पनीसँग सम्झौता गरेर ८० प्रतिशतको फाइनान्सको सुविधा दिइरहेका छन् ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कडाइ गरेको भएपनि हायर पर्चेज कम्पनीलाई भने खुला छाडेको देखिन्छ । बैंकले दिने ईभी कर्जामा कडाई गरेपछि ग्राहकहरू हायर पर्चेज कम्पनीमा सिफ्ट हुन थालेको एक बैंकरले विकासन्युजलाई बताए । राष्ट्र बैंकको उक्त व्यवस्थाले बैंकको व्यवसायमा धक्का लागेको उनको भनाइ छ ।

    ‘हायर पर्चेज कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाबाटै ऋण लिने हुन् । हायर पर्चेज कम्पनीलाई त व्यक्तिलाई दिएको जति शुल्क तोक्न मिल्दैन । हायर पर्चेजले कम ब्याजदरमा ऋण लिने हुन् । ग्राहकलाई प्रत्यक्ष ऋण दिन नपाएपछि बैंकको आम्दानी पनि घट्छ,’ एक बैंकका नायव प्रमुख कार्यकारी अधिकृतले भने, ‘एउटै व्यवसायका लागि फरकफरक नीति विभेदकारी छ । सवारी खरिदका लागि बैंकले ६० प्रतिशत मात्रै फाइनान्सको सुविधा दिने तर हायर पर्चेजले ८० प्रतिशत दियो भने सबै ग्राहक उतै जान्छन् ।’

    ती बैंकरका अनुसार विगतमा ८० प्रतिशत फाइनान्स हुँदा बैंकलाई पुँजी बढी लगानी गर्न पाइन्थ्यो । तर, यसले गर्दा बैंकको लगानीमा समेत असर गरिरहेको उनको भनाई छ । ग्राहकहरूको सकेसम्म कम रकम लगानी गर्ने सोच हुने भएकाले बैंकमा नआउने उनले बताए ।

    डाउन पेमेन्ट कम गर्ने ग्राहकलाई हायर पर्चेज कम्पनीमा फाइदा भएपनि कम ब्याजदरका हिसाबले भने बैंकमा फाइदा रहेको उनको भनाइ छ । बैंकहरूले स्थिर ब्याजदरमा ८ प्रतिशत र फ्लटिङमा साढे ६ प्रतिशत ब्याजदरमा अटो लोन दिइरहेका छन् । फ्लटिङमा आधार दरमा ०.५ प्रतिशतदेखि २.५ प्रतिशतसम्म प्रिमियम दर तोकेर अटो कर्जा दिइरहेको उनले बताए ।

    ‘बैंकहरूले अटो लोनको ब्याजदर घटाएर ग्राहक आकर्षित गर्न खोजिरहेका छौं । एक/दुई बैंकको ब्याजदर ६ प्रतिशतको हाराहारीमा झरिसकेको पनि छ,’ उनले भने, ‘अब बैंकहरूले ब्याजदर कम गरेर अटोका ग्राहक तान्ने हो । तर, कम डाउनपेमेन्टमा ऋण दिन भने व्यवस्थाले नै रोकेको छ ।’

    राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी सुमन न्यौपाने हायर पर्चेज कम्पनीले पुरानो व्यवस्था अनुसार ८० प्रतिशतसम्म फाइनान्स गर्न पाउने बताउँछन् । हालैको सर्कुलरले हायर पर्चेज कम्पनीलाई कुनै असर नगरेको उनको भनाइ छ । अर्काे व्यवस्था नभएसम्मका लागि पुरानै ८० प्रतिशत फाइनान्सको सुविधा रहेको उनले बताए ।

    ‘हायर पर्चेज कम्पनीमा पुरानो व्यवस्था जे छ सोही अनुसार दिन पाउँछन् । क, ख र ग वर्गका संस्थालाई मात्रै नयाँ सर्कुलर लागू भएको हो । बैंक तथा वित्तीय संस्थाहरूले ६० प्रतिशतभन्दा बढी नहुने गरी फाइनान्सको सुविधा छ । तर, अन्य संस्थालाई भने पुरानै व्यवस्था लागू छ,’ उनले भने ।

    साथै, बजारमा प्रतिस्पर्धा गर्न अटो कम्पनीले छुट लगायत स्किम ल्याएपनि बैंकबाट कर्जा भने दिन नपाउने उनको भनाइ छ ।

    ‘अटो व्यवसायीहरूले आफैं जोखिम लिएर ग्राहकलाई छुट दिन सक्नुहुन्छ । बजारमा प्रतिस्पर्धा गर्न ग्राहकलाई बीमादेखि अन्य सुविधा दिन सक्नुहुन्छ । तर, आफै कर्जा दिन पाउनु हुन्न । कर्जाका लागि बैंक वा हायर पर्चेज कम्पनीसँग सहकार्य गर्नुपर्छ,’ उनले भने ।

    प्रतिकृया दिनुहोस्