News Portal

  • गभर्नर बन्ने लगभग पक्का भएपछि गुणाकर भट्टले कार्यकारी निर्देशकबाट दिए राजीनामा

    आर्थीकसंसार संवाददाता५ बैशाख, २०८२
    १७ पटक
    ५ बैशाख, २०८२

    काठमाडौं । डा. गुणाकर भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् । राष्ट्र बैंकको आगामी गभर्नर बन्ने सम्भावना बलियो भएसँगै उनले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बुधबार साँझ बसेको बैठकले डा. भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । कांग्रेस सभापति देउवाले उनलाई बोलाएर गभर्नर बन्ने संकेत दिएपछि उनले शुक्रबार राजीनामा दिएका हुन् ।

    डा. भट्टले दिएको राजीनामा राष्ट्र बैंक सञ्चालक समितिले पारित गर्नुपर्ने हुन्छ । तर, तत्काल कुनै एजेन्डा नरहेकाले सञ्चालक समिति बैठक आह्वान नगरिएको राष्ट्र बैंक स्रोतले बतायो ।

    ‘उहाँले राजीनामा दिनु भएको हो । उहाँले दिएको राजीनामा राष्ट्र बैंकको गभर्नर कार्यालयमार्फत सञ्चालक समितिले स्वीकृति गर्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

    साढे २ दशकदेखि राष्ट्र बैंकमा कार्यरत डा. भट्टले विभिन्न विभागको प्रमुखको भूमिका समेत निर्वाह गरेका छन् । हाल उनी आर्थिक अनुसन्धान विभागमा कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् ।

    डा. भट्टले राष्ट्रिय ऋण व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभागको प्रमुख भएर काम गरेका थिए ।

    विस २०५७ सालमा राष्ट्र बैंकमा जागिर सुरु गरेका डा. भट्ट त्रिभुवन विश्वविद्यालयबाट (एमबीए) गोल्ड मेडलिस्ट समेत हुन् । उनले अमेरिकाको विलियम्स कलेजबाट अर्थशास्त्रमा मास्टर्स र अमेरिकाकै वेनी स्टेट विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।

    उनीसँग ग्रामीण विकास बैंकको सञ्चालक र नेपाल धितोपत्र बोर्डको सञ्चालक समेत रहेर काम गरेको अनुभव छ । साथै अर्थमन्त्रालयमा आर्थिक सल्लाहकार, विभिन्न समयमा बजेट तर्जुमा गर्न, आर्थिक सर्वेक्षण तर्जुमा गर्न समेत उनले योगदान पुर्याएका छन् ।

    विभिन्न विश्वविद्यालयमा अध्यापनसमेत गरेका उनी हाल कर्जा सूचना केन्द्रको अध्यक्षको भूमिकामा समेत छन् ।

    प्रतिकृया दिनुहोस्