News Portal

  • एशियन लाइफ इन्स्योरेन्स अठारौं वर्षमा प्रवेश, चुक्ता पूँजी ३ अर्ब ३९ करोड पुग्यो

    आर्थीकसंसार संवाददाता२२ चैत्र, २०८१
    ६ पटक
    २२ चैत्र, २०८१

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  स्थापनाको सत्रौं वार्षिकोत्सव विविध सामाजिक तथा संस्थागत गतिविधिहरूका साथ भव्य रूपमा सम्पन्न गरेको छ । कम्पनीले २०६४ सालको चैत्र २१ गतेदेखि जीवन बीमा कारोबार सुरु गरेको हो र यस वर्ष अठारौं वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रमहरूको आयोजना गरिएको हो ।

    वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत देशभर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमहरूमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै बीमा मात्र नभई सामाजिक उत्तरदायित्वमा समेत अग्रणी भूमिका खेल्ने उद्देश्य लिइएको कम्पनीले जनाएको छ ।

    ‘रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै, कम्पनीले चैत्र २१ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गर्यो । सो कार्यक्रममा कम्पनीका प्रधान कार्यालय तथा काठमाडौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारीहरूसहित विभिन्न संघसंस्थाका प्रतिनिधि गरी ७४ जनाले रक्तदान गरे ।

    त्यस्तै, वार्षिकोत्सवकै अवसरमा कम्पनीले चैत्र १८ गते काठमाडौं उपत्यकाभित्र कार्यरत कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता पनि आयोजना गर्यो । यस प्रतियोगिताले कर्मचारीबीचको सहकार्य, आत्मीयता र ऊर्जा अभिवृद्धिमा टेवा पुगेको विश्वास गरिएको छ ।

    सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै, देशभरका ८६ शाखा तथा उपशाखा कार्यालयमार्फत वृद्धाश्रम, अनाथालय, सामुदायिक विद्यालय तथा सामाजिक संघसंस्थाहरुलाई करिब १० लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री, खाद्यान्न तथा फर्निचर सहयोग गरिएको छ । यस कार्यक्रमले संस्थागत सामाजिक प्रतिबद्धतालाई अझ प्रस्ट्याएको कम्पनीले जनाएको छ ।

    कम्पनीको प्रधान कार्यालयमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा सञ्चालक समिति अध्यक्ष दीपक कुमार श्रेष्ठले कम्पनीको व्यवसायिक यात्रामा १७ वर्षदेखि साथ दिने सम्पूर्ण सेयरधनी, बीमित, एजेन्ट, कर्मचारी तथा शुभेच्छुकहरुप्रति हार्दिक आभार प्रकट गरे । उनले कम्पनीले जीवन बीमाको उत्कृष्ट सेवा प्रवाह गर्दै बीमित तथा सेयरधनीलाई उच्च प्रतिफल दिन प्रतिबद्ध रहेको बताए ।

    आर्थिक पक्षमा हेर्दा कम्पनीको हालसम्मको प्रगति उल्लेखनीय देखिन्छ । चालू आव २०८१र८२ को फागुन मसान्तसम्ममा जीवन बीमाकोष ४४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने कूल बीमाशुल्क संकलन ५७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । कम्पनीको कूल लगानी ४९ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

    त्यस्तै, चालू आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा कम्पनीले कूल बीमाशुल्क ५ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ भने सक्रिय बीमालेखको संख्या १६ लाख ४२ हजार पुगेको छ। कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

    कम्पनीले आगामी दिनहरूमा अझ आधुनिक, दिगो र विश्वासिलो जीवन बीमा सेवा प्रदान गर्दै बीमा क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान दिने अठोट व्यक्त गरेको छ । एशियन लाइफ इन्स्योरेन्सले समाज, बीमित र देशको समृद्ध भविष्य निर्माणतर्फ उन्मुख योजनाहरूमार्फत आफ्नो सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्