News Portal

  • बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन, कसको सम्भावना बढी ?

    आर्थीकसंसार संवाददाता१२ माघ, २०८१
    २० पटक
    १२ माघ, २०८१

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् । बीमा प्राधिकरणको अध्यक्ष बन्न पूर्वअध्यक्षसहित १२ जनाले आवेदन दिएका हुन् ।

    प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले गत पुस २६ गते आवेदन आह्वान गरेको थियो । सोही बमोजिम आज अन्तिम दिनसम्म १२ जनाले आवेदन दिएका हुन् ।

    बीमा प्राधिकरणको अध्यक्ष बन्न कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईं, विष्णु बावु मिश्र, बुद्धकाजी श्रेष्ठले आवेदन दिएका छन् । यस्तै, दामोदर बसौला, डिम प्रसाद पौडेल, रामशरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठले आवेदन दिएको मन्त्रालयले जनाएको छ ।

    रेग्मी प्राधिकरणमा निर्देशक पदमा कार्यरत छन् भने डा. रोका युवा स्वरोजगार कोषका पूर्वउपाध्यक्ष हुन् । प्राधिकरणको अध्यक्ष बन्न आवेदन दिएकामध्ये ओझा अध्यापन गराउँछन् भने चापागाईं साविक बीमा समितिका पूर्वअध्यक्ष हुन् ।

    यस्तै, मिश्र निक्षेप तथा कर्जा सुरक्षण कोषका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् भने बुद्धकाजी श्रेष्ठ तत्कालीन लुम्बिनी जनरल इन्स्योरेन्सको उच्च व्यवस्थापक तहका कर्मचारी हुन् । हाल उनी सर्भेअर पेशामा आवद्ध छन् । उनी तत्कालिन यूनाईटेड इन्स्योरेन्सको सञ्चालक समितिको सदस्य भएर १८ महिनासम्म काम गरेका थिए ।

    बस्यौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक हुन् भने डिमप्रसाद पौडेल नेपाल एयरलाइन्सका पूर्वमहाप्रबन्धक हुन् । रामशरण पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् । उनी हाल कृषि विकास बैंकको अध्यक्ष समेत हुन् । विक्रान्त पाण्डे नेपाल इन्स्योरेन्सका पूर्वउपमहाप्रबन्धक हुन् ।

    रमण नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं नागरिक लगानी कोषका पूर्वप्रमुख हुन् । उनी हाल लक्ष्मी सनराइज बैंकका अध्यक्ष छन् ।

    गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते र भ्रष्टाचार मुद्धामा सूर्यप्रसाद सिलवालविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि बीमा प्राधिकरण अध्यक्षविहीन छ । सिलवाल निलम्बित भएपछि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्