News Portal

  • इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ पुष, २०८१
    २४ पटक
    २९ पुष, २०८१

    काठमाडौं । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (आईआईएन) को छैठौं वार्षिक साधारणसभा वार्षिक प्रतिवेदन पेस गर्दै आइतबार काठमाडौंमा सम्पन्न भएको छ ।

    वार्षिक साधारणसभा उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले बीमा सम्बन्धी तालिमसँगसँगै बीमा दाबी भुक्तानीमा ढिलाइलगायत नयाँनयाँ विषयमा अनुसन्धानसमेत गर्न आईआईएनलाई निर्देशन दिए ।

    आईआईएनका संरक्षकसमेत रहेका अध्यक्ष दहालले बीमा क्षेत्रको विकासलाई अझै उचाइमा पुर्‍याउनका लागि आफ्नो क्षेत्रबाट मिहिनेतका साथ अगाडि बढ्न पनि आईआईएनलाई निर्देशन दिए ।

    अध्यक्ष दहालले भने, ‘बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न तालिम लिएको हुनुपर्ने सम्बन्धमा अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको छ । समितिबाट सुझाव आएपछि कार्यान्वयनमा ल्याइनेछ, देशभरका सबै बीमा सर्भेयर र बीमा अभिकर्तालाई तालिम दिनका लागि आईआईएनले तालिमलाई विकेन्द्रीकरण गर्दै तीव्रता दिनुपर्छ ।’

    त्यस अवसरमा अध्यक्ष दहालले इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको सञ्चालक समितिका पूर्वअध्यक्ष राजुरमण पौडेललाई कदरपत्र प्रदान गरे ।

    आईआईएनको सञ्चालक समितिका अध्यक्ष दीपप्रकाश पाण्डेले आईआईएनको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

    आईआईएनका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) सुशीलदेव सुवेदीले आईआईएनले बीमा क्षेत्रका विशेषज्ञहरूको सहभागिता तथा अन्तर्राष्ट्रिय सस्थाहरूसँगको सहकार्यमा समेत विभिन्न तालिम तथा कार्यक्रमहरू संचालन गर्दै आएको र स्नातकोत्तर तहमा बीमा विषयको अध्यापन तथा अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग समन्वयन एवम् सहकार्य हुँदै आएको जानकारी दिनुभयो ।

    साधारणसभामा आईआईएनका सञ्चालक समितिका सदस्यहरू तथा सेयरधनीहरू जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका सीईओहरूको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्