काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा बैंकको साधारणसभा सम्पन्न भएको हो ।
उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरू, भूतपूर्व अध्यक्ष तथा सञ्चालकहरू, शेयरधनीहरू, बैंकका विभिन्न पदाधिकारीहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकका अध्यक्ष खड्काले पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा सभाको शुभारम्भ गरेका थिए ।
साधारणसभाले बैंकको आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरूउपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै साधारणसभाले ज्योति विकास बैंकको संस्थापक शेयरधनी समूहका तर्फबाट हरिचन्द्र खड्का, रामकुमार श्रेष्ठ रसन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समूहका तर्फबाट ध्रुव कोइराला र नरेशराज आचार्यलाई आगामी ४ वर्षका लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।
सभाले बैंकको आव २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्नुका साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको आव २०८०/८१ को वित्तीय विवरणसहितको बैंकको एकीकृत वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ ।
साधारणसभामा बैंकका अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन संक्षेपमा प्रस्तुत गरेका थिए । यसैगरी सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षाधीन अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धिहरूको जानकारी गराएका थिए ।
साथै आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा विभिन्न शेयरधनीहरूले आ-आफ्ना जिज्ञासा र सुझावहरू व्यक्त गरेका थिए । शेयरधनीहरूबाट आएका जिज्ञासाको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिएका थिए ।
यसका साथै सभा सम्पन्न भएपश्चात् बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी समूहका तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित हरिचन्द्र खड्कालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको छ । खड्का बैंकको निवर्तमान सञ्चालक समितिमा समेत अध्यक्षको भूमिकामा रहेका थिए ।