काठमाडौं । बीमा कम्पनीहरु मध्ये ८०/८१ को वार्षिक साधारणसभा सम्पन्न गर्ने पहिलो कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको छ । सभा विराटनगरको बिग होटलमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७।४६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख ८९ हजार ५५९.४९ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले उक्त आर्थिक वर्षमा कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चको अनुमोदन गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा भएका खर्चहरूलाई अनुमोदन गर्नुका साथै, सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको रूपमा सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ।
सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट रिक्त रहेको पदमा नियुक्तिको अनुमोदन गर्दै कम्पनीको व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्वपूर्ण निर्णयहरू गरेको छ। कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले साधारणसभालाई सम्बोधन गर्दै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू, र नवीन सेवा विस्तारमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता गरे ।
साधारणसभाका दौरान, शेयरधनीहरूले कम्पनीप्रतिको आफ्नो विश्वास र आगामी दिनका लागि अपेक्षाहरू राखेका थिए। सभामा प्रस्तुत भएका सबै प्रस्तावहरू सर्वसम्मतिले पारित गरिएका छन्।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता दोहोर्याएको छ।