News Portal

  • राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ बन्न ४ जनाको आवेदन, को-को छन् आकांक्षी ?

    आर्थीकसंसार संवाददाता८ कार्तिक, २०८१
    ७८ पटक
    ८ कार्तिक, २०८१

    काठमाडाैं ।  राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ४ जनाको मात्रै आवेदन परेको छ । आवेदन दिने अन्तिम मिति कार्तिक ६ गतेसम्म ४ जनाको मात्रै आवेदन परेको कम्पनीले जनाएको छ ।

    सीईओका लागि आवेदन दिनेहरूमा महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठ रहेका छन् ।

     

    जसमध्ये रिमाल हाल कम्पनीको कार्यवाहक सीईओ हुन् । चार्टर्ड एकाउण्टेन्टसमेत रहेका रिमाल विगत २ दशकदेखि सोही कम्पनीमा कार्यरत रहेका छन् । २०८० कार्तिकमा तत्कालीन बीमा संस्थान कम्पनीमा परिणत भएको थियो । कम्पनीमा परिणत भएसँगै रिमालले कार्यवाहक सीईओको भूमिका निर्वाह गर्दै आएका छन् ।

    कोइराला पनि सोही कम्पनीको बीमा विज्ञको रूपमा काम गरिसकेका व्यक्ति हुन् । उनी म्यानेजमेन्ट एशोसिएसन अफ नेपाल (म्यान)का कार्यकारी निर्देशकसमेत हुन् । उनले तत्कालीन बीमा संस्थामा बीमा विज्ञको रूपमा जोडिनुअघि तत्कालीन सूर्य लाइफमा डेपुटी म्यानेजरको रूपमा करिब ४ वर्ष काम गरेका थिए । सन् २०१६ देखि २०१९ सम्म उनी सूर्य लाइफमा थिए । २०१९ देखि २०२२ सम्म उनले तत्कालीन बीमा संस्थान (हाल राष्ट्रिय जीवन बीमा कम्पनी) मा बीमा विज्ञको रूपमा काम गरे ।

    बुद्धकाजी श्रेष्ठ तत्कालीन लुम्बिनी जनरल ईन्स्योरेन्सको उच्च व्यवस्थापक तहका कर्मचारी हुन् । हाल उनी सर्भेअर पेशामा आवद्ध छन् । उनी तत्कालिन यूनाईटेड इन्स्योरेन्सको सञ्चालक समितिको सदस्य भएर १८ महिनासम्म काम गरेका थिए ।

    राष्ट्रिय जीवन बीमा कम्पनी(तत्कानि बीमा संस्था)को यस अघिको प्रशासक पदका लागि उनी सर्ट लिस्टमा परेका थिए । सर्ट लिष्टमा ३ जना परेका  थिए जहाँ उनकाे नाम पनि थियाे ।

    उनीसँग विदेशी बीमा कम्पनीहरुसँग काम गरेको अनुभव पनि रहेको छ । इण्डियन इन्स्योर रिक्स म्यानेजमेन्ट एण्ड इन्स्योरेन्स ब्रोकिङ्ग सर्भिसेसको नेपालको प्रमुख भएर उनले करिब २ वर्षसम्म काम गरेका थिए ।

    यससँगै नेपाल इन्स्योरेन्स, तत्कालिन एनबी इन्स्योरेन्समा पनि काम गरेका श्रेष्ठसँग बीमा क्षेत्रको ३० वर्ष बढीको अनुभव रहेको छ ।

    उनले बीमा विषयमा नै एमफिल समेत गरेका छन् । उनले सुशासन र दाबीको विषयमा थेसिस गरेका छन् । इन्स्योरेन्स इन्स्टीच्यूट अफ इन्डीया (आईआईअई) बाट फेलोशिप गरेका छन् ।

    कम्पनीले असोज १६ गते सीईओको आवेदन माग गर्दै सूचना जारी गरेको थियो । उक्त सूचनाअनुसार २१ दिनभित्र आवेदन दिनुपर्ने थियो ।

    प्रतिकृया दिनुहोस्