काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले यातायातसम्बन्धि प्रष्ट नीती नल्याउँदा यातायात क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् ।
बुधबार पोखरामा पोखरा यातायात प्रालिको छैटौं वार्षिक साधारणसभामा उपाध्यक्ष सिटौलाले सरकारले कुनै अध्ययन र अनुसन्धानबिना यातायात समितिहरूलाई कम्पनीमा लैजाने निर्णयले यातायात क्षेत्र तहसनहस भएको बताएका हुन् ।
सरकारले सिण्डिकेटको नाममा अनुसन्धानबिना कम्पनीमा रुपान्तरण गर्ने निर्णयले यातायात क्षेत्र धराशायी भएको उल्लेख गर्दै उनले यातायात क्षेत्र वर्तमान अवस्थामा अभिभावकविहीन अवस्थामा रहेको बताए । सवारी बीमाको विषयमा पनि स्पष्ट नीति नभएकाले व्यवसायीहरू मर्कामा परेको उनको भनाइ छ ।
‘राज्यले कानूनमा भएका व्यवस्थालाई व्यवहारमा लागू गरेको छैन, जसकारण यातायात क्षेत्र अस्तव्यस्त बनेको छ,’ उनले भने, ‘सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाएर अनुसन्धानबिना कम्पनीमा रूपान्तरण गर्ने निर्णय गर्याे, त्यो निर्णयले यातायात क्षेत्र क्षतविक्षत भएको छ ।’
उपाध्यक्ष सिटाैलाका अनुसार यातायात क्षेत्र कम्पनीमा गएपछि विधि र कार्यविधि बनेको छैन । अहिलेसम्म सरकारले कुनै कार्यविधि नबनाएको कारणले नागरिकताको आधारमा कम्पनी खडा भएको उनको भनाइ छ । स्पष्ट नीति नभएकाले यातायात क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा बढेको उनले बताए ।
उपाध्यक्ष सिटाैलाले सरकारले कम्पनीको रूपमा कुनै पनि कार्यविधि नबनाएकाले नागरिकताको आधारमा कम्पनी खोल्ने प्रवृत्ति बढ्दा अस्वस्थ प्रतिष्पर्धा बढेको आरोप पनि लगाए । उनले सरकारसँग कुन सवारीसाधन कहाँ जाने भन्ने कुनै विधि पद्धति नभएको दाबी गर्दै विधि र पद्धति नभएका कारण पनि सडक दुर्घटना बढिरहेको पनि बताएका थिए ।