News Portal

  • प्रशासनको लिकेज टाल्दै लक्ष्यअनुसारको राजस्व उठाउँछु : अर्थमन्त्री पौडेल

    आर्थीकसंसार संवाददाता२३ साउन, २०८१
    ६३ पटक
    २३ साउन, २०८१

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेट कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन् । बुधबार महिला आर्थिक पत्रकार संघ (फेजा) सँग छलफल गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

    उनले राजस्व संकलनमा रहेका त्रुटिहरू सुधार गर्न र नयाँ लक्ष्य हासिल गर्न कडा मेहनतको आवश्यकता रहेको उल्लेख गरेका छन् ।

    ‘अहिले बजेटमा जुन राजस्वको लक्ष्य निर्धारण गरिएको छ, त्यसलाई पूरा गर्न कडा मेहनत आवश्यक छ, यहाँ सबै प्रकारका त्रुटिहरू, कमी कमजोरीहरू छन् र त्यसलाई सच्चाउनुपर्ने छ,’अर्थमन्त्री पौडेलले भने ।

    विगतमा राजस्वको लक्ष्य पूरा हुन नसकेको अनुभवले आगामी दिनमा नयाँ लक्ष्य प्राप्त गर्न थप मेहनत आवश्यक रहेको उनले बताए ।

    अन्तर्राष्ट्रिय परिस्थिति, क्षेत्रीय तथा राष्ट्रिय परिस्थितिको प्रभाव र समग्र माग तथा उत्पादनमा आएको न्यूनताको प्रभावले रोजगार र उपभोगमा असर परिरहेको छ।

    आयात–निर्यात र उत्पादनमा पनि कमी आएकोले यसलाई ध्यानमा राख्दै समग्र माग, रोजगारी, उत्पादन, र उत्पादकत्व बढाउन प्रभावकारी कदम उठाउनुपर्नेमा उनले जोड दिए ।

    अर्थमन्त्री पौडेलले विगतमा करका दरहरू हेरफेर गर्दा त्यसको प्रभाव राजस्व संकलनमा के कस्तो परेको हो भनी अध्ययन अनुसन्धान गरेर समीक्षा गर्ने योजना सुनाए । करका दरहरू परिवर्तन गर्दा परिपक्कता आवश्यक रहेको उनले बताए ।

    ‘राजस्व प्रशासनको प्रभावकारी परिचालन गर्दै, राजस्व प्रशासनलाई अनुशासित बनाउँदै, सबै प्रकारका लिकेज र सिकेजहरूलाई टाल्दै, यो अवस्थामा गर्न सकिने अधिकतम राजस्व संकलन गर्ने योजना छ, एकतर्फ राजस्व प्रशासनलाई अनुशासित बनाउने, लक्ष्य पूरा गर्नसक्ने गरी परिचालन गर्ने, चुहावटलाई नियन्त्रण गर्ने, र अर्कोतर्फ व्यावसायीहरूलाई उत्पादन गरि मुनाफाबाट कर तिरी सम्मानित नागरिक बनाउने विषयलाई समानान्तर लैजान खोजिरहेका छौँ,’ पौडेलले भने ।

    अर्थमन्त्री पौडेलको योजनाले राजस्व संकलनलाई प्रभावकारी बनाउने र अर्थतन्त्रलाई स्थिर राख्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

    त्यस्तै, अर्थमन्त्री पौडेलले फेजासँगको छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको नियुक्ति छिट्टै गर्नेसमेत जानकारी गराएका छन् ।

    उनले भने, ‘सेबोनको अध्यक्ष नियुक्ति पक्रिया यति जटिल हुनु हुँदैनथ्यो, म अर्थमन्त्री भएर आइपुग्दा यो एउटा अन्योलको अवस्थाबाट गुज्रिरहेको थियो, अब कानुनसम्मत पारदर्शी ढंगले योग्य व्यक्ति अध्यक्षमा नियुक्ति हुन्छ, यत्ति नै समय भन्ने छैन तर छिटोभन्दा छिटो पक्रिया अगाडि बढ्छ ।’

    उनले पुजीँबजारलाई वास्तवमै अर्थतन्त्रको ऐनाको संज्ञा दिँदै सरकारले पुजीँबजारको विकासको सन्दर्भमा पारदर्शी र परिपक्क ढंगले काम गर्ने बताए ।

    प्रतिकृया दिनुहोस्