काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकाउन्टेण्टका लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । शनिबार साँझ काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्थाको दशौं परिषद्को शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राज्यका सम्बद्ध निकायहरूमा चार्टर्ड एकान्टेण्टको दरबन्दी राख्ने विषयमा सरकार छिट्टै निष्कर्षमा पुग्ने गरी पहल गर्ने प्रतिबद्धता जनाए । उनले राज्य सम्बद्ध निकायहरूमा अर्थ मन्त्रालय, अर्थ मन्त्रालय मातहतका निकाय, महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकायलगायत अन्य निकायहरूमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रबन्ध गरिने बताए ।
अर्थमन्त्री पौडेलले राज्यमा सम्बद्ध निकायमा चार्टर्ड एकान्टेण्टहरूका लागि दरबन्दीको व्यवस्था हुनुपर्ने मागमा सकारात्मक रहेको बताए ।
उनले मुलुकको लेखा प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन चार्टर्ड एकान्टेण्टहरूको महत्वपूर्ण भूमिका रहेको बताए अर्थमन्त्री पौडेलले कर प्रणालीमा सुधार, आर्थिक पारदर्शिता, जवाफदेहिता र कर्तव्यपरायणता मुलुकको उन्नतिको पूर्वशर्त रहेको बताए ।
उनले आगामी दिनमा कर प्रणाली र लेखा परीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टड एकाउन्टेण्टको विधालाई प्रभावकारी सशक्त र विश्वसनीय बनाउनका निम्ति चार्टड एकाउन्टेण्ट संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरे ।
उनले चार्टर्ड एकान्टेण्ट संस्थाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिरहेको उल्लेख गरे । उनले आगामी दिनमा पनि लेखाप्रणालीलाई पारदर्शी बनाउने गरी काम गर्न थप सक्रियता बढ्ने अपेक्षा रहेको बताए ।