News Portal

  • ट्रष्ट माइक्रो इन्स्योरेन्सको साधारणसभा सम्पन्न, आईपीओ निष्कासनको प्रस्ताव अनुमोदन

    आर्थीकसंसार संवाददाता२३ असार, २०८१
    २३९ पटक
    २३ असार, २०८१

    काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रथम साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा भएको साधारणसभाले विभिन्न एजेण्डाहरु पारित गरेको छ ।

    साधारणसभाले सर्वसाधारणका लागि आईपीओ समेत जारी गर्ने प्रस्ताव सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ लेखापरीक्षकको नियुक्ति पारिश्रमिक निर्धारण सहित आगामी चार वर्षका लागि नयाँ बोर्ड नेतृत्वको निर्वाचन समेत गरेको छ । जसअनुसार कम्पनीको अध्यक्षमा पुनः जगत बहादुर पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् ।

    त्यस्तै अन्य वोर्ड सदस्यहरुमा दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपाने निर्वाचित भएका छन् । यसैबीच कम्पनीले लुम्बिनी प्रदेशका ग्रामिण भेगका सर्वसाधारणलाई बीमाको पँहूचमा ल्याउने उद्देश्यले घुम्ती बीमा सेवा सुरु गर्ने भएको छ ।

    साधारण सभाको उद्घाटन लगत्तै नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापा, कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गानाले संयुक्त रुपमा बीमा घुम्ती सेवाका लागि ल्याइएको मोबाइल भ्यानको उद्घाटन समेत गरेका थिए ।

    कम्पनीका उप कार्यकारी प्रमुख विश्वजन थापा श्रेष्ठका अनुसार घुम्ती सेवाले बीमाको पहुँचबाट बाहिर रहेका सर्वसाधारणलाई उनीहरुकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी प्रकृयाको बारेमा सचेतना सहितको सेवा कम्पनीले दिने छ ।

    प्रतिकृया दिनुहोस्